Monday, July 15, 2024

चट्याङको प्रभाव र सावधानी

नवराज पोखरेल
१० असार, काठमाडौं
अहिले मौसमी विपत् आइपर्ने समय हो । तापक्रम वृद्धिले तराई क्षेत्रमा तातो हावा चल्छ भने पहाडी क्षेत्रमा बाढीपहिरो जान्छ । हावाहुरी तथा आँधी आउनुका साथै चट्याङ पनि यही बेला पर्छ । विपत् व्यवस्थापन प्राधिकरणका अनुसार सबभन्दा बढी कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा चट्याङका कारण मानिसको ज्यान गएको छ ।

विशेष गरी हिउँदे वर्षा र पूर्वमनसुनको समयमा चट्याङले क्षति पु¥याउँछ । चट्याङको कारण एकै पटक धेरै मानिसको मृत्यु हुँदैन । यसबाट हुने क्षति जंगल नजिक तथा ग्रामीण क्षेत्रमा हुन्छ । तत्काल त्यसको तथ्यांक र घटनाको विवरणसमेत आउँदैन । त्यसैले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ ।

चट्याङ पनि जलवायुसम्बन्धी प्राकृतिक जोखिम हो । यो एउटा शक्तिशाली विद्युतीय प्रवाहको कारण हुने जोखिम हो । यसमा प्रवाह हुने विद्युतीय शक्तिको तापक्रम सूर्यको सतहको तापक्रमभन्दा तीन गुणा बढी करिब ९० हजार डिग्री सेन्टिग्रेड तापक्रमसम्म हुने गर्छ । यो अपार विद्युतीय शक्ति दुई वा दुईभन्दा बढी बादल ठोक्किने र गर्जनको कारण उत्पन्न हुन्छ ।

बादल ठोक्किने प्रक्रिया एउटै बादलभित्र वा दुई वटा फरक फरक बादलसँग र कहिलेकाहीँ बादल र जमिनसँग पनि हुने गर्छ । यसरी ठोक्किएर निस्किएको विद्युतीय प्रवाह वायुमण्डलमा मात्र सीमित रहेको अवस्थामा खतराजन्य नहुन सक्छ तर जब सो विद्युतीय प्रवाह पृथ्वीसम्म आइपुग्यो भने मानवीय क्षतिसँगै अरू क्षति पनि हुन सक्छ ।

यसरी ठोक्किएर चट्याङ पर्ने बादललाई कुमुलोनिम्बस बादल भनिन्छ । यो वायुमण्डलमा ठोक्किन्छ र मानिसले देख्न मात्र सकिन्छ । बादल र जमिनको ठोक्काइबाट हुने चट्याङले मानवीय क्षति हुने गर्छ । चट्याङका घटना बढ्दै गएको कुरा पछिल्लो तथ्यांकले देखाउँछ । वार्षिक रूपमा चट्याङको कारण एक सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको गृह मन्त्रालयको तथ्याङ्क छ । मृत्युबाहेकका क्षतिको यकिन विवरण छैन ।

वर्षाको समयमा र पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । चट्याङको वैज्ञानिक आधारचाहिँ विद्युतीय प्रवाह हो, जुन विद्युत् धनात्मक र ऋणात्मक चार्जयुक्त बादल ठोक्किने प्रक्रियाबाट हुन्छ । सामान्यतया वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि १० किलोमिटर उचाइसम्म हुने गर्छ ।

मानवीय माध्यम जस्तो घर, भवन, विद्युतीय पोल तथा टावर, रुख पनि वायुमण्डलमा हुने विद्युतीय प्रवाहलाई जमिनसम्म ल्याउने माध्यम बन्न सक्छ । भवन, रुख, टावर वा विद्युतीय पोल नजिकै मानवीय बस्ती छ भने त्यस्तो प्रवाहले मानिसको ज्यान जाने तथा अन्य संरचनालाई क्षति पु¥याउन सक्छ । यसबाहेक कतिपय आकाशमा उडिरहेका जहाज पनि चट्याङको कारण दुर्घटनामा परेका छन् । कहिलेकाहीँ विद्युतीय ट्रान्सफर्मर र दूरसञ्चार टावरमा चट्याङ पर्दा सो टावर र टावरसँग जोडिएका व्यक्तिगत विद्युतीय सामग्रीमा पनि क्षति पुग्न सक्छ ।

चट्याङको भविष्यवाणी अहिलेसम्म गर्न सकिएको छैन । तथापि अति सूक्ष्म समयका लागि भविष्यवाणी गर्ने संवेदक (सेन्सर) बजारमा आइसकेका छन् । चट्याङ परेपछि यसले कहाँ क्षति पु¥यायो भनेर मापन गर्ने संवेदक त उपलब्ध नै छन् । जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट चट्याङलाई मापन गर्नका लागि मुलुकका नौ ठाउँमा सेन्सर जडान गरी अनुगमन सुरु गरेको छ ।

विश्व बैंकको सहयोगमा विभागले तुम्लिङटार, विराटनगर, सिमरा, भैरहवा, काठमाडौं, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा त्यस्ता सेन्सर राखेको छ । यो सेन्सरले नेपालभरिको चट्याङसम्बन्धी तथ्यांक अनुगमन गर्छ । यी मापक केन्द्रबाट चौबिसै घण्टा चट्याङको मापन भइरहेको हुन्छ तर सामुदायिक सचेतना नै चट्याङबाट बच्ने मुख्य उपाय हो ।

व्यवस्थित बस्ती प्रणाली र अग्ला भवन, पोल, टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रबन्ध गर्नु नै चट्याङबाट बच्ने उपाय हो । वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि अर्थिङ प्रणालीको स्थापना गर्नु पर्छ । यसका लागि भवन वा टावर वा पोलको माथिल्लो भागबाट सुचालकको प्रयोग गरी धनात्मक र ऋणात्मक चार्जयुक्त विद्युतीय प्रवाहलाई जमिनमा पु¥याइ बिसर्जन गराइन्छ ।

अर्थिङ प्रणालीका लागि सुचालक तार र जमिनमा विसर्जन गर्न खोजिएको विद्युतीय प्रवाहलाई तटस्थ बनाउने केही सुचालक र वरिपरि सुचालक ठोस वस्तुको व्यवस्थित प्रणाली विकास गरिएको हुन्छ । यसले वायुमण्डलमा भएको अधिक विद्युत् प्रवाहलाई विसर्जन गर्छ । त्यसैले पोल, टावर र अग्ला भवन निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्छ । ग्रामीण भेगमा अग्ला रुख नजिक बासस्थान नबनाउने, घरको निर्माण नगर्ने र नबस्ने यसबाट बच्ने केही पूर्वसावधानी हुन् ।

बिजुली चम्किने र चट्याङ पर्ने समयमा जङ्गलमा वा अग्लो रुख भएको स्थानमा नजाने र त्यहाँको यात्रा गर्नु हुँदैन । साथै वन क्षेत्र नजिकको क्षेत्रमा घर, बस्ती निर्माण गर्नु हुँदैन । पानी परेको अवस्था तथा चट्याङ पर्ने समयमा धातुका पोल र धातुजन्य वस्तु, विद्युत् सञ्चालन भएका उपकरण र अन्य इलेक्ट्रोनिक्स समानको प्रयोग गर्नु हुँदैन । त्यस्ता सामग्रीबाट टाढा बस्नु पर्छ । कहिलेकाहीँ चट्याङको कारण ठुला ठुला आगलागीको घटना पनि हुन्छन् ।

यसबाट बच्न निम्न सावधानी अपनाउनु पर्छ

जब आँधीबेहरीजन्य खतरा वा चट्याङको खतरा देखियो भने सबैभन्दा पहिले घरभित्र जानु पर्छ । घरभित्र रहँदा पनि टेलिफोन वा मोबाइलको प्रयोग गर्नु हुँदैन । यदि बाहिर हुँदा सुरक्षित भवनमा पुग्न समय छैन भने यी नियम पालना गर्नुहोस् ः प्राकृतिक प्रकाशको डन्डामुनि जस्तै रुखमुनि बस्नु हुँदैन ।

खुला पानीबाट टाढा रहनु पर्छ । ट्याक्टर र अन्य धातुजन्य वस्तु वा उपकरणबाट टाढा रहनु पर्छ । मोटरसाइकल, स्कुटर, गोल्फ कोर्ट र साइकलबाट टाढा बस्नु पर्छ । बिजुलीको तार टेलिफोनको तार वा अन्य धातु पाइप, रेल र अन्य धातु मार्गबाट टाढा रहनु पर्छ । खुला क्षेत्रमा साना छुट्टै संरचनामा बस्न कोसिस गर्नु पर्छ ।

वनमा, साना रुखको वा झाडीमा रहँदा बरु सुरक्षित रहन सकिन्छ । तल्लो क्षेत्र जस्तै खोला वा उपत्यकामा रहँदा बस्दा अन्य स्थानभन्दा सुरक्षित हुन सकिन्छ । चट्याङसँगै फ्ल्यास बाढी आउन सक्ने खतरालाई ध्यान दिँदै सुरक्षित बस्नु पर्छ ।

साधारणतया वर्षा र कालो कुमुलोनिम्बस नामक बादल अधिक भएको बेला चट्याङको सम्भावना उच्च हुन्छ । त्यस कारण त्यस्तो समयमा यदि घरभित्र हो भने विद्युतीय सामानको प्रयोग नगर्ने र चिसो भएर नबस्ने जस्ता व्यक्तिगत सुरक्षा अपनाउन सकिन्छ । समग्र चट्याङको जोखिमलाई न्यूनीकरण गर्नका लागि व्यक्तिगत, सामुदायिक र राष्ट्रिय स्तरमा सचेतना जगाउनु आवश्यक पर्छ । कालो बादलसहित गर्जन आएको समयमा घरभित्र अथवा घर बाहिर रहँदा अपनाउनु पर्ने जानकारी ग्रामीण समुदायसम्म पु¥याउनु पर्छ ।

अत्यधिक चट्याङ पर्ने स्थानको पहिचान गरी सो क्षेत्रमा सुचालक पोल र अर्थिङको प्रणाली स्थापना गरेको खण्डमा पनि यसको सम्भावित क्षतिबाट बच्न सकिन्छ । व्यक्तिगत, सामुदायिक तथा राष्ट्रिय स्तरमा पनि चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पहल हुनु जरुरी छ । वार्षिक रूपमा एक सय जनाको मृत्यु र लाखौँ रुपियाँको क्षति हुने जोखिमलाई नियमित प्रक्रियाको रूपमा लिनु गलत हुन्छ । चट्याङसम्बन्धी सावधानी अपनाउनु अति नै जरुरी छ ।

गोरखापत्र दैनिकमा प्रकाशित । वातावरणविद् पोखरेल ‘कालीगण्डकी जलाधारमा जलवायु परिवर्तन र ऊर्जाको सम्बन्ध’ विषयमा थाइल्यान्डको प्रिन्स अफ सोङ्क्ला विश्वविद्यालयबाट विद्यावारिधि गर्दैछन् ।

ताजा समाचार

सम्बन्धित समाचार