Sunday, October 20, 2024

ढुङ्गेधारा छ, पानी छैन

१० असार, काठमाडौं
भक्तपुरको लोकन्थलीकी राजमाया हेक्कालाई ढुङ्गेधारामा कलकल बगेको पानी अँजुलीमा थापेर खाएको सम्झँदा अहिले सपनाजस्तै लाग्छ । उमेरले ७५ नाघेकी राजमाया भन्छिन्, ‘धारामा चौबिसै घण्टा सफा पानी आउँथ्यो । धारामै थापेर पिउँथ्यौँ । अहिले त त्यस्ता ढुङ्गेधारा नै छैनन्, भएकामा पनि पानी झर्दैन । त्यसैले यो विगत सम्झँदा अहिलेको पुस्ताले त एकादेशको कथा जस्तै भन्न थालिसकेको छ ।’

पहिला अहिलेजस्तो घरघरमा पानीका धाराको सुविधा पनि थिएन । गाउँगाउँ र टोलटोलमा ढुङ्गेधारा थिए र त्यहीँबाट पानीको गुजारा गर्नुपथ्र्याे । सफा र स्वस्थ पानीको खाँचो हुँदैनथ्यो । राजमाया भन्छिन्, ‘मैले देखेका कैयौँ ढुङ्गेधारा सुकिसके । ती धाराको बयान अहिले गर्दा कोही पत्याउँदैन ।’

लोकन्थलीकै हरिबहादुर हेक्काको टोलमा ढुङ्गेधारा त छ तर पानी आउन भने छोडिसकेको छ । ‘पहिले धाराको पानीले पुगेपछि बगेर जाने गथ्र्यो । खेतीमै त्यही पानी लगाउँथ्यौँ । हामी त्यहीँको पानी पिएर हुर्केका हौँ,’ उनी भन्छन्, ‘अहिले भएका धारा पनि सुके, धेरै त विकासका नाममा विनाशै भए । भत्काइदिएका धारा बनाउन अनुरोध गरेका छौँ, खोइ के बनाउलान् ।’

हिजोआज पनि पहिलेकै जस्ता ढुुङ्गेधारा र तिनमा कलकल बगेको पानी हेर्न मन छ उनीहरूलाई तर अब कहाँ पाउनु ? उनीहरू दुवै जनालाई लाग्छ कहिलेकाहीँ त कृत्रिम रुपमै भए पनि कतै पानीको व्यवस्था गरेर ढुङ्गेधारामा पानी बगिरहेको हेर्न मन लागेको छ । यसका लागि स्थानीय नागरिकहरु र स्थानीय तहसँग माग पनि गरिरहेको उनीहरू सुनाउँछन् ।

गत जेठ ३० गते उपत्यकाका नेवार जातिले सिथि नखः पर्व मनाए । इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वमा इनार, कुवा, पोखरी, ढुङ्गेधारालगायत पानीका स्रोतहरुको सफा गरेमा वर्षायाममा मूल फुटेर पानी आउने मान्याता रहेको बताए । उनका अनुसार ढुङ्गेधारा, इनार, कुवा, पोखरी सुकिसकेको भए पनि वर्षामा पानी पलाओस् भनेर सफा गरिन्छ ।

ढुङ्गेधारा, पोखरी, तथा इनारामा पानी नभए पनि मनसुनमा मूल फुटेर आउँछ कि भन्ने अलिकति आशा मनमा अझै बाँकी राखेर पानी पर्खिरहेका छन्, उपत्यकावासी । ‘सिथि नखःमा विशेषगरी पानीका मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोतवरपर सरसफाइ गर्दा वर्षाको समयमा बगेर आउने फोहोर पानी खानेपानीको मुहानमा मिसिएर दूषित नहोस् भनेर हिजो उपत्यकावासी नेवार समुदायले कुवा, पोखरी, इनार, धारा सफा राख्नुभएको छ,’ उनले भने, ‘हिँउदमा सुक्खा कारण सुकेको र थुनिएको पानीको मूललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूल सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको हो ।’

श्रेष्ठका अनुसार सिथि नखः महादेव पार्वतीका जेठ सुपुत्र कुमारको जन्म दिन भएकाले कुमारको पूजाआराधना गर्नाले वर्षातको समयमा धान रोप्न पानी आउने, शरीरमा बल र शक्ति प्राप्त हुने विश्वासका साथ यो पर्व मनाउने चलन छ । उनले लिच्छवीकाल, मल्लकालदेखि नै कुलो तथा अन्य पानीका स्रोत सफा राख्नुपर्ने मान्यता रहिआएको जानकारी दिए ।

ललिपुरस्थित ठेचोका रत्न मालीले पनि सिथि नखःका अवसरमा धारा, कुवा, इनार, पोखरी सफा गरे । ‘हामी सानो छँदा जुन धाराको पानी खाएर हुर्कियौँ, जुन धारामा नुहायौं, जुन पोखरीमा पौडी खेल्यौं,’ उनले भने, ‘तर आज ती कुराहरु कथाजस्तै लाग्दोरहेछ, धेरैजसो त सुकी नै सके तर वर्षातमा मूल फुट्ला भन्ने मान्यताका साथ हामीले हिजो सिथि नखः मनायौँ ।’

यसैगरी, ललितपुरको गोदावारी नगरपालिकाका–१२ का प्रशान्त मालीलाई पनि पोखरीमा पौडी खेलेर, इनारकै पानी निकाले नुहाएको यादहरु ताजै छन् तर ती पोखरीमा पानी छैन । उनले नुहाएको ढुङ्गेधारा छ, पानी छैन । ‘आमाबुबाले ढुङ्गेधाराबाट पानी ल्याउने गर्नुहुन्थ्यो तर अहिले धारा छ पानी छैन,’ उनले भने ।

मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिसकेको छ । सक्रिय हुन भने बाँकी नै छ । पानी पर्न सुरु भएसँगै पलाउलान् त उपत्यकाका सुकिसकेका ती ढुङ्गेधाराहरु ? पछिल्लो समयमा स्थानीय तहहरुले ढुङ्गेधाराको संरक्षण र संवद्र्धन गर्दै पुरानै अवस्थामा फर्काउने प्रयास गर्दै छन् तर ती प्रयासहरु कति सफल हुन्छन्, कति असफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सुक्खायामसँगै जमिनमुनिको पानीको सतह घटिरहेको तथा ढुङ्गेधारा सुकिरहेको भन्दै यसको संरक्षण र संवद्र्धन गर्ने नीतिलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताइन् । ‘ढुङ्गेधारा, इनार, पोखरी तथा अन्य सम्पदाहरुलाई पुरानै शैलीमा फर्काउने गरी काम भइरहेको छ, परम्परागत शैलीबाट नै निर्माण गर्नका लागि हामीले भक्तपुरबाट जनशक्ति झिकाएका छौं,’ उनले भनिन्, ‘आधुनिक विकाससँगै ढुङ्गेधाराहरू सुक्न थालेपछि जगेर्नाका लागि काम भइरहेको छ ।’

काठमाडौं महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले पनि काठमाडौंमा परम्परागत शैलीका कुवा, पोखरी, ढुङ्गेधारा इनारहरु संकटमा पर्दै गइरहेको भन्दै तिनको संरक्षणका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए । अलान फाउन्डेसनले गरेको अध्ययनअनुसार काठमाडौँ महानगरपालिकामा रहेका ढुङ्गेधारामध्ये ६० प्रतिशतमा पानी नै आउँदैन ।

महानगरभित्रका १ सय ५४ ढुङ्गेधारामध्ये ६१ वटामा मात्र पानी आउँछ भने ५० वटामा कहिल्यै पानी नआउने, १० वटा सङ्कटमा परेका (लोप हुन लागेको अवस्थामा), २१ वटा हराएका र १२ वटा फेला नपरेको समस्या छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले उपत्यकामा मेलम्ची खानेपानी आयोजना आएपछि फेरि पानी आउन थालेको जानकारी दिए । उनका अनुसार जमिनमुनिको पानीको सतह कम हुँदै गइरहेकाले र भौतिक संरचना निर्माणका कारण ढुङ्गेधारा सुक्दै गएको तथा केही ढुङ्गेधारालाई पुरानै अवस्थामा ल्याउन नसकिने र केही ढुङ्गेधारामा भने पानी फेरि आउने बनाउन सकिन्छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका ८ सय ३७ ओटा ढुङ्गेधारामध्ये १ सय १७ ओटा ढुङ्गेधारा लोप भइसकेका छन् । सञ्चालनमा रहेका ७ सय २० मध्ये ३ सय २० ढुङ्गेधारा सुकिसकेका छन् । कतिपय ढुङ्गेधारालाई जीवन्त बनाउन पानीको स्रोत खन्नुपर्ने र त्यसो गर्दा झन् पानीको स्रोतहरु हराउने खतरा रहेको राणाको भनाइ छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा विशेषगरी सुक्खायाममा सहतमुनिको पानी सुक्दा आपूर्ति व्यवस्थापनमा चुनौती रहेको बताउँछन् । ‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खायाममा ९ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्योमध्ये ४० प्रतिशत भूमिगत पानीले नै निर्भर गर्छ,’ उनले भने, ‘तर भूमिगत पानी कम हुँदै गएकाले माग बढी र आपूर्ति कम भइरहेको छ ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेसँगै खानेपानीको वैकल्पिक स्रोतको समेत खोजी गर्नुपर्ने उनको भनाइ छ । ‘काठमाडौँमा दैनिक ४३ करोड खानेपानी आवश्यक छ, आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन,’ राईले भने ।

भू–गर्भविद् डा. सुवोध ढकाल उपत्यका बढ्दो जनसंख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारहरुको विकासका कारण सहतमुनि पानीको रिजार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको जानकारी दिए । ‘भण्डारमा पानी छैन तर पानी निकाल्न नमिल्ने अवस्थामा पनि निकालिरहेको छ, जतासुकै घरैघर र सडकका कारण आकाशबाट परेको पानी बगेर जान्छ तर जमिनमुनि छिर्दैन,’ उनले भने, ‘अव्यवस्थित सहरीकरणका कारण पनि मुख्य समस्या भइरहेको छ र जलवायु परिवर्तनको कारण पनि सुक्खा बढिरहेकाले जमिनमुनिको पानीको सतह घटिरहेको छ ।’

जमिनमुनिको पानीको संरक्षणका लागि अनुसन्धानबाट समस्या पहिल्याउने र समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । ढकालका अनुसार कृत्रिम पुनर्भरण प्रक्रिया अगाडि बढाउनुपर्ने छ । ‘सुकेका पोखरीमा पानी जम्मा गर्न सकियो भने पनि पुनर्भरण प्रक्रिया अगाडि बढाउन सहज हुनेछ,’ उनले भने, ‘उपत्यकामा खानेपानीको स्रोत सुक्दै जाने समस्या समाधानका लागि ठूलो परियोजना र लागत आवश्यक छ ।’

भूमिगत जलस्रोत व्यवस्थापन नीति, २०६९ मा भूमिगत पानीको व्यवस्थापनसम्बन्धी दीर्घकालीन सोच लिइएको छ । नीतिमा पर्याप्त र गुणस्तरीय खानेपानीमा सबैको सहज, सरल र समान पहुँच सुनिश्चित गर्न र दिगो उपयोगमा टेवा पु¥याउनका लागि काठमाडौं उपत्यकाभित्रको भूमिगत जलस्रोतको प्रभावकारी व्यवस्थापन गरिने उल्लेख छ ।

यसैगरी राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० मा जलवायु परिवर्तनजस्ता प्राकृतिक तथा मानवजन्य कारणहरूले पानीका स्रोतहरूमा आएको हस तथा संरचनाहरूको क्षतिजस्ता कारणहरूले पानीको उपलब्धतामा कमी हुनु तथा सेवा अवरुद्ध हुन गई खानेपानी तथा सरसफाइ सेवालाई अपेक्षाकृत सुरक्षित भरपर्दो र दिगो बनाउन नसकिनु मुख्य समस्या रहेको उल्लेख छ । नेपालको संविधानले स्वच्छ खानेपानीको पहुँचलाई मौलिक हकका रूपमा व्याख्या गरेको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार