Tuesday, April 22, 2025

उपभोक्तालाई सस्तो मूल्यमा काठ उपलब्ध गराउने मन्त्री बस्नेतको उद्घोष

काठमाडौं– वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन वातावरण र विकासबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।
 
वन विभागले बिहीबार ललितपुरमा गरेको ‘छैटौं वन अधिकृतहरूको राष्ट्रिय गोष्ठि’ मा मन्त्री बस्नेतले भने, ‘वन, वातावरण र विकासबीचको सन्तुलन कायम गरी विकास निर्माण गरौं ।’
 
नेपालमा वन र वातवरणबीच सन्तुलन नमिलेकाले नै अन्य मुलुकबाट काठ आयात गर्नु परेको मन्त्री बस्नेतको भनाइ छ ।
 
 
‘वनको धनीे देशमा काठ अन्यत्रबाट आयात हुन्छ। यसको मतलब वन, वातावरण, विकासको उपयोग र संरक्षणबीच सन्तुलन मिलेको छैन। हाम्रो सन्तुलन कहिँकतै पनि मिलेको छैन,’ मन्त्री बस्नेतले भने, ‘मन्त्रालयको प्राथमिकता यो सन्तुलन कायम गर्नु हो। यो सन्तुलन हामी कायम गछौंं।’
 
मुलुकको समृद्धिका लागि वनको सदुपयोग गर्न आवश्यक रहेको मन्त्री बस्नेत बताउँछन् ।
 
‘रुख काट्नु विनास होइन। सहि सदुपयोग र व्यवस्थापनको पक्ष महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘बंगलादेश, इन्डोनेशिया, मलेसिया, वर्मा जस्ता देशबाट नेपाललाई काठ आयात हुँदैमा त्यहाँको वन तथा वातारण सखाप हुँदैन। मुख्य कुरा सहि व्यवस्थापन, सुशासन र सहि उपयोग भएमा सन्तुलन कायम हुन्छ  विनास हुने कुरा आउँदैन । मुलुकको समृद्धिका लागि वनको सहि सदुपयोग गर्न आवश्यक छ ।’
 
उनले जमिन, जल र जंगलको सहि ढंगले सदुपयोग गरि उपयोग गर्न सबैलाई आग्रह गरे। ‘अर्थशास्त्रमा बाँझो जमिन पुँजी होइन,’ उनले भने, ‘तर त्यस्ता बाँझो जमिनको अधिक्तम सदुपयोग गर्यौं । त्यसका लागि नीति नियम बनाउ ।’
 
उपभोक्तालाई सस्तो मूल्यमा काठ उपलब्ध गराउने र वनलाई उद्यमसँग जोडेर रोजगारीको सिर्जना गर्न योजना रहेको मन्त्री बस्नतेले जानकारी गराए ।
 
नेपालका ७७ जिल्लामा जडिबुटी खेतीको प्रशस्त सम्भावना रहेको भन्दै नेपालले यथोचित सदुपयोग गर्न नसकेको मन्त्री बस्नेतले बताए।  उनले राष्ट्रिय वन नीतिको पूर्णरुप दिन कार्य अन्तिम चरणमा रहेको बताए  ।
 
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली वन तथा वातावरणबारे संविधानमा स्पष्ट उल्लेख भएकाले त्यसमा बसेर काम गर्नुपर्ने बताउँछन् ।  वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले वनको संरक्षण, उपयोग, आर्यआर्जन  गर्नमा वन अधिकृतको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आर्थिक समाजिक र वातावरण सन्तुलन कायम गर्न वन अधिकृतको भूमिका अहब रहेको बताए।
 
द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रवन्धक राजु लैडारीले विदेशबाट आउने काठ रोक्न नेपालमै काठ उत्पादन गर्न बताए ।
 
त्यस्तै नेपाल वन प्राविधिक संघका अध्यक्ष कुमोद श्रेष्ठले जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
 
तीन दिनसम्म चल्ने छलफलमा वन तथा वातावरण क्षेत्रको प्राथमिकता,संघियतामा वनको नीति तथा कानून,वन संगठन र सुशासन,वन व्यवस्थापन लगायतका ९ वटा विषयगत क्षेत्रहरुमा १७ वटा विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ।
 
गोष्ठिमा वन तथा वातावरण मन्त्रालय,वन विभाग,क्षेत्रीय वन निर्देशनालय,प्रादेशिक उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय,जिल्ला वन कार्यालयहरुमा कार्यरत वन अधिकृत गरी २ सय जना वन अधिकृतको सहभागिता रहेको छ ।
 
 

ताजा समाचार

सम्बन्धित समाचार