Sunday, June 30, 2024

उपत्यकामा भेटियो नयाँ पक्षी ‘लेसर ग्रे स्राइक’

२ असार, काठमाडौं
तापक्रम वृद्धिसँगै गर्मी भेगमा देखिने/भेटिने पक्षीहरू काठमाडौं उपत्यकामा पनि भेटिन थालेका छन् । यूरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पक्षी ‘लेसर ग्रे स्राइक’ पहिलो पटक काठमाडौं उपत्यकामा अभिलेख भएको छ ।

भक्तपुरको मनोहरामा शनिबार (१ असारमा) यो पक्षी भेटिएको हो । ‘लेसर ग्रे स्राइक’ काठमाडौं उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख हो । पक्षी पथ प्रर्दशक शंकर तिवारीले शनिबार अपराह् मनोहरामा यो पक्षी भेटेका हुन् ।

गत वर्षको वैशाख अन्तिम साता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा पहिलो पटक नेपाली भू–भागमा ‘लेसर ग्रे स्राइक’ भेटिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले भेटेको उक्त चरालाई राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेका छन् ।

त्यहाँ यो वर्ष पनि सो पक्षी भेटिएको शुक्लाफाँटा निकुञ्जले जनाएको छ । ‘डेढ दुई किलोमिटर आसपासको फरकमा यस वर्ष पनि भेटिएको छ । गत वर्ष वैशाख ३० मा भेटिएको थियो, यसपटक वैशाख ३१मा भेटिएको हो’, जोशीले भने ।

शनिबार मनोहरामा एउटा मात्रै देखिएको ‘लेसर ग्रे स्राइक’ आज आइतबार (२ असारमा)को अनुगमनमा जोडी नै भेटिएको छ । ‘शंकरदाईले खबर गरे लगत्तै हिजो मनोहरा पुग्दा एउटा मात्रै थियो, आज विहान त जोडी नै देखियो’, पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठले भने ।

यो पक्षी झट्ट हेर्दा गौथलीझैं देखिन्छ । निधार र तालुमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने यो पक्षी लामो दूरीसम्म उड्न सक्छ । भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तान र आसपासका भेगहरूमा यो चरा सहजै भेटिने वरिष्ठ पक्षीविद् हेमसागर बराल बताउँछन् ।

यूरोप र पश्चिम एसियाका पानी कम पर्ने ठाउँहरू, मरूभूमि आसपासका भेगमा भेटिने ‘लेसर ग्रे स्राइक’ नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख भएको उनको ठहर छ । ‘यसअघि नेपालका पहाडी भेगमा यस्तो पक्षी भेटिएको मेरो जानकारीमा छैन’, बरालले भने, ‘यो वर्ष तापक्रम वृद्धि भएकाले बच्चा कोरल्न उपयुक्त क्षेत्र खोज्दै यता आएको हुन सक्छ ।’

‘लेसर ग्रे स्राइक’ गत वर्ष शुक्लाफाँटा जस्तो तराई (समुद्र सतहको २ सय १८ मिटर) र अहिले १ हजार ३ सय मिटर भन्दा बढी उचाईको भक्तपुरमा देखिनु तापक्रम वृद्धिकै प्रभाव हुनसक्ने उनको विश्लेषण छ । लेसर ग्रेसँगै मनोहरामा पक्षीका करिब ३ सय प्रजाति अभिलेख भएका छन् ।

एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ नामक पानी चरा पनि भेटिएको थियो । काठमाडौं उपत्यकामा विरलै भेटिने सो पक्षी उपत्यकाका लागि पहिलो अभिलेख भने होइन । गर्मी बढेसँगै विचरण गर्ने क्रममा थकाइ मार्ने क्रममा जल कुखुरा, ‘लेसर ग्रे स्राइक’ जस्ता पक्षी मनोहरामा देखिएका हुन सक्ने पक्षी अनुसन्धाता श्रेष्ठको ठहर छ ।

नेपालका अन्य भेगमा विरलै भेटिने ‘ठूलो कस्दरी’ नामक जलपक्षी २ वर्ष अघि (२०७९ भदौ तेस्रो साता) मनोहरामा भेटिएको थियो । सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले नामक जलपक्षी फेला परेको थियो । सो पक्षी ३७ वर्षपछि काठमाडौं उपत्यकामा देखिएको नेपाली पक्षी संरक्षण संघ (बिसीएन) लगायतका संघ–संस्थाले पुष्टि गरेका छन् । त्यसअघि २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा १ सय ९२ वर्षपछि पानी गौथली भेटिएको थियो ।

गर्मी याममा विचरण र वच्चा कोरल्ने उपयुक्त क्षेत्रको खोजीमा नेपालमा ६२ प्रजातिका चरा नेपाल आउने गरेका नेपाल पक्षीविद् संघले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार