Sunday, September 8, 2024

असारदेखि मेलम्चीको पानी रोकिँदै

३० जेठ, काठमाडौं
असारदेखि मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । बर्खा सुरु भएकाले सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्न लागिएको हो । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी आउने गरेको छ ।

तर पानी कति समयसम्म बन्द रहने यकिन नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।२०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो ।

३ वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ । गत वर्षजस्तै मेलम्चीको पानी यस पटक पनि बन्द गर्ने तयारी रहेको कार्यकारी निर्देशक लामिछानेले बताए । ‘जल तथा मौसम विज्ञान विभागले आगामी जेठ ३१ बाट मनसुन सक्रिय हुने सूचना दिएकाले खानेपानी मन्त्रालयको निर्णयअनुसार असार १ बाट पानी बन्द गर्ने सोचमा छौं,’ उनले भने । अहिले २ जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको उनले जनाए ।

‘मुहानभन्दा केही माथि नाकोटे क्षेत्रमा बाढी आए/नआएको बारे जानकारी दिने गरी एक जना हेरालुलाई पारिश्रमिक दिएरै राखिएको छ,’ लामिछानेले भने, ‘उनले दिएको बाढीको सूचनाका आधारमा मुहानबाट सुरुङमा पठाएको पानी बन्द गरिनेछ ।’ मुहानमा सामान्य रूपको धमिलो आउँदासम्म पानी काठमाडौं पठाउने योजना रहेको उनले सुनाए । ‘लगातार वर्षा भइरहे समस्या हुने हो,’ उनले भने, ‘बीचमा घाम लागेको दिनमा कुनै समस्या आइनपरे पानी पठाउने सोचमा छौं ।’

बर्खामा बाढीले बिग्रिएको सडक असोज र कात्तिकसम्म बनाउँदैमा समय जाने गरेको छ । बाढीले गर्दा सडक सफा गरेर मुहानसम्म पुग्न समस्या हुने गरेको छ । तुरुन्तै एक्स्काभेटर लगेर काम गर्न समस्या हुने गरेको छ । बाढी आएर बाटो बन्द हुने खतरा रहेको ठाउँनजिकै एक्स्काभेटर तयारी अवस्थामा राखिएको लामिछानेले जानकारी दिए ।

एक्स्काभेटर बर्खाभर त्यही राखिने उनको भनाइ छ । ‘अहिले एक्स्काभेटर राख्दा मनसुन कम भएपछि छिटो बाटो खोल्न सजिलो हुनेछ,’ उनले भने, ‘हामीले यो बर्खामा ढिलो बन्द गरेर सुक्खा लाग्नेबित्तिकै छिटो पानी पठाउने योजना बनाएका छौं ।’ मेलम्चीबाट सुरुमा १७ करोड लिटर पानी आइरहेको थियो । काठमाडौंमा पानीको माग धेरै भएपछि पछि थप गरेर २० करोड लिटर पु¥याइएको हो ।

मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ (हेडवर्क्स क्षेत्र) लाई सुरक्षित ठाउँमा सारिने भएको छ । आर्थिक वर्ष ०८१÷८२ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख भएसँगै त्यसका लागि डिजाइन गर्ने गरी अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको तयारी थालिएको छ । अहिलेको मुहान नजिकै सधैं बगिरहने पहिरो भएकाले बेला इन्टेक पुरिने खतरा रहेको लामिछानेले बताए ।

काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ ८ सय मिटर दूरीमा सार्ने तयारी छ । नयाँ इन्टेकका लागि सर्कथली क्षेत्र उपयुक्त मानिएको लामिछानेले जनाए । मंसिरसम्म परामर्शदाता छानिसक्ने र परामर्शदाताले ६ महिनाभित्र त्यसको डिजाइन दिने उनले बताए ।

अबको २ वर्षभित्र यसको काम सुरु हुने उनको भनाइ छ । इन्टेक सारेर नयाँ संरचनाबाट पानी सुरुङमा पठाउन थप एक किमि सुरुङ निर्माण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । थप तीन किमि सडक पनि निर्माण गरिने उनको भनाइ छ ।

दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७÷१७ करोड लिटर पानी ल्याइनेछ । यसअनुसार ३ चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं आउनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । तिनै धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ ।

सुरुको अवधारणाअनुसार मेलम्ची, यांग्री र लार्केबाट पानी ल्याउन सके ०३५ सम्म काठमाडौं उपत्यकामा पानीको माग व्यवस्थापन गर्न सकिने समितिको भनाइ छ । याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउन डिजाइनको काम चालु आर्थिक वर्षभित्र अघि बढाएर काम गरिने समितिका कार्यकारी निर्देशक लामिछानेले जनाए । ‘दुई वर्ष भित्र यांग्री र लार्के खोलाको पनि ठेक्का हुनेछ,’ उनले भने ।

१७ सय किमि नयाँ पाइप बिछ्याइयो

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइलाइन विस्तार गरिसकिएको छ । यसरी विस्तार गरिएका केही पाइपलाइनमा पानी ‘टेस्टिङ’ गरिएको र केहीमा अझै बाँकी छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ का आयोजना निर्देशक राजेन्द्र सापकोटाले बताए ।

‘यो नेपाल सरकारको एकल लगानीबाट बिछ्याइएका पाइप हुन्, जसमध्ये अब ६० किमि पाइप बिछ्याउन बाँकी छ, बिछ्याइएका पाइपको टेस्टिङ र कमिसनिङ गर्ने तयारी हुँदै छ । साउन दोस्रो सातासम्म यो काम सक्ने तयारी छ,’ सापकोटाले भने । पाइप टेस्टिङको काम सकिएपछि त्यही पाइपबाट पानी वितरण थालिने उनको भनाइ छ ।

१ हजार १० किमि पाइप एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बिछ्याइएको हो । जसमा ८ सय किमिमा परीक्षणको काम सकिएको छ । २ सय १० किमिमा बाँकी छ । ‘२ सय १० किमि पाइपको एक/दुई महिनामा पानी परीक्षणको काम सकिनेछ,’ उनले भने, ‘त्यसका लागि पर्याप्त पानी चाहिन्छ ।’

रिङरोड बाहिरको क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गर्ने कुरा बजेट वक्तव्यमा उल्लेख भएअनुसार यो छलफलका क्रममा रहेको सापकोटाले बताए । यसअन्तर्गत थिमि, पेप्सीकोला, जोरपाटी र कीर्तिपुरमा ७ सय किमि पाइप बिछ्याउने योजना छ । ‘यो काम एडीबीको ऋण सहयोगमा अघि बढ्नेछ,’ उनले भने, ‘यसको डिजाइन भइसकेको छ, ढिलोमा भदौसम्म काम अघि बढ्छ ।’

कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार