Sunday, June 30, 2024

३ दिन अगावै भित्रियो मनसुन

२८ जेठ, काठमाडौं
यस वर्षको मनसुन नेपाली भू–भाग प्रवेश गरेको छ । मनसुनी पात्रो भन्दा ३ दिन अगावै वर्षा सुरु भएको हो ।

सोमबार विहान (२८ जेठमा) मनसुन कोशी प्रदेश भित्रिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम र झापाका भू–भागहरूमा रहेको मनसुन देशैभर फैलन ७ देखि १० दिन हाराहारी लाग्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।

अङ्ग्रेजी महिनाको जुन १३ (जेठ ३०/३१) देखि अक्टोबर २ (असोज १५/१६) सम्म नेपालका लागि मनसुन क्यालेन्डर हो । गत वर्ष मौसमी पात्रो भन्दा एक दिन ढिला गरी नेपालमा मनसुन भित्रिएको थियो ।

यो वर्षको मनसुन कोशी प्रदेशमा सुरु भएको बताउँदै महाशाखाका मौसमविद् अधिकारीले भने, ‘कोशी प्रदेश बाहेक अन्यत्र स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षाका गतिविधि हुन सक्छ तर मनसुन भन्न हतार हुने छ । कोशी प्रदेशका पूर्वी भेगको वर्षा चाहिँ मनसुन नै हो ।’ गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको सक्रिय प्रभाव रहेकाले तत्काल ती भेगमा मनसुन विस्तार हुने सम्भावना नरहेको उनले प्रष्ट्याए ।

नेपालसहित दक्षिण एसियाली भेगहरूका लागि बंगालको खाडीको दक्षिण अण्डामान र निकोबार टापु समूहबाट मे अन्तिम साता मनसुन सुरु हुन्छ । मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेशहुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ । भारतको केरलामा जुन १ तारिखमा सक्रिय बन्ने मनसुन औसतमा १३ दिनपछि नेपाली भू–भाग प्रवेश गर्छ ।

यो वर्ष नेपालका अधिकांश स्थानमा औसत र कतिपय भेगहरूमा औसत भन्दा बढी वर्षा हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) र मौसम विभागको प्रक्षेपण छ । नेपालका अधिकांश भेगमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेश प्रदेश, वग्गमती प्रदेशको दक्षिणी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही भेगहरूमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत हाराहारी रहेको विभागले जनाएको छ । मौसमविद्हरू सरदर वर्षाको ९० देखि ११० प्रतिशतलाई औसत वर्षा मान्ने गर्छन् ।

मनसुन अवधिमा नेपालको औसत वर्षा १ हजार ५ सय ३० मिलिलिटर र काठमाडौंको वार्षिक औसत वर्षा १ हजार ४ सय ५४ दशमलव ८ मिलिलिटर हो । ४ महिनाको अवधिमा नेपालमा वार्षिक वर्षा भन्दा ८० प्रतिशत हाराहारी पानी पर्ने गर्छ । तर, भौगोलिक अवस्थितिअनुसार सरदर वर्षाको मात्रा फरक पर्ने, हिमाली भेग र पोखरा, लुम्ले जस्ता क्षेत्रमा औसत वर्षाको मात्रा फरक रहने गर्छ ।

अङ्ग्रेजी महिनाका जुन, जुलाई, अगस्ट, सेप्टेम्बर र अक्टोबर पहिलो साता नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । मनसुन आगमन र बर्हिगमनका आधारमा नेपालमा सक्रिय वर्षाको अवधि औषतमा १ सय १२ दिन हुने विभागको विश्लेषण छ ।

तर, केही वर्षयता नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा मनसुन अवधि धकेलिदै गएको छ । गत वर्ष १२ दिन ढिला गरी बाहिरिएको मनसुन अवधि १ सय २४ दिनको थियो । वर्षाको अवधि लम्बिन थालेपछि मौसम विभागले ३ वर्षअघि मनसुनी पात्रो हेरफेर गर्दै जुन १३ देखि अक्टोबर २ तारिखलाई मनसुन अवधि मान्न थालेको छ ।

त्यसअघि जुन १० देखि सेप्टेम्बर २३ तारिख नेपालको मनसुनी पात्रो थियो । नेपालमा सबै भन्दा छोटो मनसुन अवधि २०३६ मा भएको थियो । सो वर्ष जम्मा ७३ दिनलाई सक्रिय मनसुन अवधि मानिएको छ । त्यसैगरी २०६५को मनसुन अवधि सबैभन्दा लामो (१ सय ३० दिन) रहेको विभागको अभिलेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार