Sunday, September 8, 2024

भेटियो गुराँसको दुर्लभ प्रजाति

२७ जेठ, हेटौंडा
उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको संख्या निकै कम रहेको छ ।

केही वर्षदेखि नै आफूले त्यस्तो गुराँस फुलिरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष निनोद लामाले जानकारी दिए ।इलामको माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा पनि फेला परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख एवं वनस्पतिविज्ञ रघुराम पराजुलीले जानकारी दिए ।

इलामको वनस्पति उद्यानमा कार्यरत रहँदा उनले चिमालको खोज, अध्ययन गरेका थिए । इलामपछि मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँस फेला परेको वनस्पतिविज्ञ पराजुलीको भनाइ छ । गुराँसका ३३ प्रजातिमध्ये अहिले दामनमा भेटिएको दुर्लभ प्रजाति हो, यसबारे थप अध्ययन, अनुसन्धान र खोजी गर्ने काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार करिब १५ वर्षअघि नेपालका लेकाली क्षेत्रमा चिमालको अध्ययन गर्दा इलामबाहेक अन्य जिल्लामा देखिएको थिएन । दोस्रो जिल्ला मकवानपुरको दामनमा फेला परेको हो । स्थानीयले पठाएको फोटो र दिएको जानकारीका आधारमा वनस्पतिविज्ञ पराजुलीले दुर्लभ वनस्पती चिमाल भएको बताए । सन् २००९ मा नेपालमा चिमालको अध्ययन भएको थियो ।

अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँससमेत भनिने गरिएको छ । पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनले देखाएको छ । उक्त क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातिको गुराँस एक एपिफाइट हो, सामान्यतया रुख, चट्टान र ढुङ्गामा पाइन्छ ।

हिमालयको तल्लो भागमा ५ हजारदेखि ९ हजार फिटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सिमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेख भेटिएको छ । वयस्क बिरुवामा पात ३देखि ८ इन्च लम्बाइ र ३ इन्च चौडा हुन्छन् ।

फूलको रङ सेतोदेखि क्रिम, फिक्का पहेँलो वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ । फूलमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको बास्नाले मात लाग्ने इलामका स्थानीयले भन्ने गरेको अनुभव विज्ञ पराजुलीले सुनाए । चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रङ्गीन फुल्ने गरेको सुनेको भए पनि दामन क्षेत्रमा अन्य गुराँस फुलिसकेपछि अन्तिममा यो फुल्ने गरेको अध्यक्ष लामाले बताए ।

सीमित संख्यामा रहेको चिमाल पछिल्लो समय संकटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । चिमालको कटिङबाट पनि बिरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयले औषधिका रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । गुराँस पूर्वी पहाडी क्षेत्रमा बढी पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालका ४३ जिल्लामा ३३ प्रजातिका गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार