Friday, October 18, 2024

नेपालमा भेटियो नयाँ पक्षी

२२ माघ, काठमाडौं
नेपालमा ‘हडसन फ्रगमाउथ’ नामक नयाँ पक्षी भेटिएको छ । काठमाडौंको चन्द्रागिरीसँग सीमा जोडिएको मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा राति सक्रिय हुने (निशाचर) चरा भेटिएको होे ।

यो पक्षी दिउँसो भने लाटोकोसेरोझैं शिकारमा निस्कृय रहने स्वभावको हुन्छ । आइतबार अपराह् मदन भण्डारी प्राविधिक विश्वविद्यालयका विद्यार्थी शिव आचार्य लगायतको टोलीले च्याऊको अध्ययन अनुसन्धान गर्ने क्रममा यस्तो पक्षी फेला पारेको हो । ‘हामी च्याऊको रिसर्च गर्न वन क्षेत्रमा थियौँ, अन्य चराहरूले आवाजसहित लेखेट्दै गर्दा नयाँ जिव नजिकै आयो, हामीले उद्धार ग¥यौ । उद्धार गरिएको जिव नयाँ चरा रहेछ’, आचार्यले हाकाहाकीसँग भने ।

नेपालका पक्षीहरूको अद्यावधिक सूचीमा यस्तो जिव सूचीकृत छैन । भारत, बंगलादेश, भुटान, चीन, लाओस, म्यानमार, थाइल्यान्ड, भियतनामलगायतका देशमा भने विगतदेखि नै यस्तो पक्षीका विभिन्न प्रजाति पहिचान भएका छन् । विश्वमा फ्रगमाउथका १२ र भारतमा २ प्रजाति अभिलेख भएका छन् ।

समशितोष्ण जंगल र समथल भू–भागमा विचरण गर्ने ‘फ्रगमाउथ’ नेपालका लागि पहिलो अभिलेख हुनसक्ने पक्षीविद्हरूको प्रारम्भिक ठहर छ । बेलायती पक्षी अनुसन्धाता ब्रायन हडसनले यो पक्षी र यसका प्रजातिबारे अध्ययन अनुसन्धान गरेकाले यसको नामसँग हडसन जोडिएको वरिष्ठ पक्षीविद् डा. हेमसागर बरालले बताए ।

नेपालका पक्षीहरूको अद्यावधिक सूचीमा ‘फ्रगमाउथ’को प्रजाति नभएको जानकारी दिँदै उनले भने, ‘विगतका खोज अनुसन्धानको तथ्य केलाउनुपर्छ । मेरो जानकारीमा यस्तो पक्षी भेटिएको थिएन । तथ्य प्रमाणित भएमा पक्कै पनि नेपालका लागि पक्षीको नयाँ संख्या थपिन्छ ।’ यसको मुख भ्यागुत्ताको जस्तो भएकाले फ्रगमाउथ नामाकरण गरिएको उनको बुझाइ छ ।

नेपाल पक्षी संरक्षण संघ (बिसीएन) र अन्य सरोकारवाला संघ/संस्थाको अध्ययन अनुसन्धानअनुसार नेपालमा ८ सय ९४ प्रजातिका पक्षी अभिलेख छन् ।

हडसनको खोज अनुसन्धान पक्षीका धेरै प्रजातिबारे भए पनि उनले ‘फ्रगमाउथ’ केन्द्रित नेपालबारेको अनुसन्धानमा पाएका तथ्यको मिति र अन्य विवरणबारे पक्षी अनुसन्धाता एकमत छैनन् । हडसनको अध्ययनले नेपालमा यस्तो पक्षी पाइनसक्ने बलियो आधार दिए पनि चित्लाङ भेटिएको फ्रगमाउथनै नेपालका लागि पहिलो हुनसक्ने पक्षी अनुसन्धाताहरू देवेन्द्रकुमार खरेल र हठन चौधरी सहमत छन् ।

खरेल भन्छन्, ‘नेपालजस्तै हावापानी भएका छिमेकी देशहरूमा फ्रगमाउथ विगतदेखि नै थियो, अहिले चित्लाङको प्राकृतिक वातावरणमा भेटिएकाले नेपालका लागि पहिलो रेकर्ड हो । यसले संरक्षणकर्मीहरूलाई उत्साह दिँदै पक्षी अनुसन्धानको पाटो फराकिलो बनाएको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार