Sunday, September 8, 2024

सुरु भयो शीतलहरको कहर

२४ पुस, काठमाडौं
बाक्लो हुस्सु, भुँइ कुहिरो र शीतलहरले तराईको जनजिवन प्रभावित बन्न थालेको छ । मधेश प्रदेशमा दिउँसो मौसम खुले पनि पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सुसहितको असर बढ्दो छ ।

मध्य गर्मीमा ४० डिग्री हाराहारी रहने धनगढी, भैरहवा, नेपालगञ्ज, दाङ, सिमरा, जनकपुुर, विराटनगर, झापाको तापक्रमको तापक्रम १० डिग्री र सो भन्दा तल झरेको छ । बाक्लो हुस्सु र भुँइ कुहिरो तत्कालै सुधार नहुने मौसमविद्हरू बताउँछन् । सक्रिय हिउँदे अवधि अझै एक महिना भन्दा बढी बाँकी रहेकाले हुस्सु र भुँइ कुहिरो लाग्न थालेका ठाउँहरूमा शीतलहरको सम्भावना उच्च रहेको विज्ञहरूको ठहर छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘विगतदेखिको अवस्था हेर्दा फेब्रुअरी आधासम्म (पुस अन्त्यसम्म) तराईमा हुस्सु कुहिरो लाग्ने गर्छ, कहिले हुस्सु लागेका ठाउँहरूमा शीतलहर नै चल्न सक्छ ।’ निरन्तरको बाक्लो हुस्सुसँगै औसत तापक्रम एकै दिनमा १० डिग्री हाराहारीमा झरेमा मौसम विभागले ‘शीतलहर’ मान्ने गर्छ ।

हिजोआज तराईमा कठ्याङ्ग्रिदो चिसो बढे पनि शीतलहर नै भन्न हतार हुने नगरकोटीको बुझाइ छ । निरन्तर ४८ घन्टा वा सो भन्दा बढी समयसम्म घाम नदेखिने अवस्था बन्यो भने मात्र शीतलहर मान्ने गरिन्छ, उनले भनिन्, ‘अहिले नै शीतलहर भन्ने अवस्था छैन ।’ केही दिनयता विराटनगर, मधेश प्रदेश र आसपासका भेगमा दिउँसो मौसम खुल्ने र तापक्रम सुधार हुने क्रम जारी छ । मंगलबार दिनभर दिउँसो इलामको दक्षिण भेग र झापाको पूर्वी भेगको मौसम प्रभावित रह्यो ।

भैरहवा र लुम्बिनी प्रदेशका तराईका भेगमा भने तापक्रम निरन्तर खस्किएको र हवाई भिजिबिलिटी पनि निकै कमजोर हुन थालेको छ । भैरहवा, नेपालगञ्ज र आसपासका भेगमा ३/४ दिनयता मौसम प्रभावित रहेको बताउँदै भैरहवास्थित जल तथा मौसम विज्ञान कार्यालयकी मौसमविद् हिना मिश्रले भनिन्, ‘यहाँ त शीतलहरकै प्रभाव सुरु भइसक्यो ।’ मौसम प्रभावित बन्दा त्यहाँ हवाई उडान समेत रोकिन थालेका उनले जानकारी दिइन् ।

मंगलबार (२४ पुसमा) दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई भिजीबीलीटी १ हजार २०० मिटर हाराहारी मात्रै रहेकाले सबै उडान प्रभावित भए । ‘सामान्य अवस्थामा यहाँबाट दैनिक २०/२२ वटा उडान हुन्छन्, तर आज दिउँसोसम्ममा एउटा पनि उडान भएन । सायद आज कुनै पनि उडान हुँदैनन्’, मिश्रले भनिन् ।

भारतसँग सीमा जोडिएका तराईका भू–भाग, भारतको विहार, उत्तर प्रदेश, दिल्ली, हरियाणा र बंगलादेशसम्म (इन्डोगङ्गेटिभ रेञ्ज) हरेक वर्ष शीतलहरको प्रभाव दोहोरिन्छ । गंगा नदी र यसका सहायक नदी, औद्योगिक करिडोर र आसपासका भेगमा बढ्दो प्रदूषणले शीतलहरको प्रभाव बढ्न थालेको विज्ञहरूको ठम्याइ छ ।

महाशाखाले हिउँदयामका बेला (अंग्रेजी महिनाको डिसेम्बर पहिलो सातादेखि) हरेक विहान ‘थिकफग’ (बाक्लो हुस्सु र कुहिरो)को अवस्था अद्यावधिक गर्दै आएको छ । तर शीतलहरको प्रभाव कस्तो हुने र कति अवधिसम्म रहने पूर्वानुमान गर्ने उपकरण र संयन्त्र महाशाखामा छैन ।

शीतलहर र बाक्लो हुस्सु हट्न पश्चिमी वायु सक्रिय बन्नुपर्नेमा तत्काल त्यस्तो सम्भावना नरहेको मौसमविद् बताउँछन् । तराईमा २ साताहाराहारी पूर्ण र आंशिक शीतलहरको प्रभाव रहने गर्छ । सन् १९९८ र २००५ मा नेपालको तराई भेगमा निरन्तर ३ सातासम्म शीतलहरको प्रत्यक्ष प्रभावमा परेको महाशाखाको तथ्यांक छ ।

ताजा समाचार

सम्बन्धित समाचार