१ फागुन, काठमाडौं
नेपालको तराई भू–परिधि (ताल) विश्वका ‘पुनः स्थापनाको उत्कृष्ट नमूना’मा सूचिकृत भएको छ । विश्वका ७ वटा भू–परिधिमा नेपाल छनोट भएको हो ।
केन्याको नैरोवीमा मंगलबार (१ फागुनमा) नेपालसहित विभिन्न ६ भेगका भू–परिधि कार्यक्रम उत्कृष्ट घोषित भएका हुन् । ‘अक्सियोन आन्दिना’ (पेरु, इक्वेडर, चिली, बोलिभिया र अर्जेन्टिना), ‘अफ्रिकन फार्मस टान्सफर्मिङ फुड सिस्टम’ (माली, सेनेगल, तान्जानिया, युगान्डा र केन्या), लिभिङ इन्दुस (पाकिस्तान)लाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मान्यता दिइएको हो ।
त्यसैगरी ‘मेनग्रोभ रि जेनेरेसन इन श्रीलंका’ (श्रीलंका), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवान्डा, सेनेगल र सोमालिया) र ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिया र टर्की) सर्वोत्कृष्ट सूचीमा परेका हुन् । संयुक्त राष्ट्र संघीय पारिस्थितिकीय पुनः स्थापना दशक (यूएन डिकेड अफ इकोसिस्टम रेस्टोरेसन)को सर्वोत्कृष्ट कार्यक्रम र परियोजना छनोट भएका हुन् ।
तराई भू–परिधि क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संकटापन्न बाघ, एक सिंगे गैंडा, हात्ति जस्ता ठूला संरक्षित जिवजन्तुको बासस्थानमा हो ।प्रकृति र समुदायले प्राप्त गर्ने लाभ, लोपोन्मुख र संकटनिकट रहेका जिवजन्तुको संख्या र बासस्थान सुधार, वन र पानीका स्रोतको पुनः स्थापना, संरक्षणमार्फत विश्वव्यापी योगदान, समुदायको आयआर्जनमा सुधारलगायत १० वटा मापनका आधारमा नेपालसहित विभिन्न देशहरूलाई यस्तो सम्मान प्राप्त भएको हो ।
वन तथा वातावरण मन्त्रालयले २३ वर्षअघि सन् २००१ मा सुरु गरेको यो कार्यक्रममा वाग्मती नदीदेखि पश्चिमतर्फका तराईका जिल्ला समेटिएका छन् । ताल नेपाल–भारत दुवै तर्फको ५२ हजार वर्ग किलोमिटर र नेपालतर्फ २४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । वाग्मतीबाट भारतको यमुना नदीसम्मका विभिन्न क्षेत्र तालमा छन् ।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले २ सातापछि (१५ फागुनमा) विशेष सम्मान ग्रहण गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक वेदकुमार ढकालले जानकारी दिए । तराई भू–परिधि बाघ, एक सिंगे गैंडा, हात्ती जस्ता ठूला संरक्षित जिवजन्तुको विचरण क्षेत्र/बासस्थानमा हो ।
तालमा नेपाल–भारततर्फका वरन्डाभार करिडोर (जैविक मार्ग) शिवनगर करिडोर (प्रस्तावित), खाता करिडोर, चिसापानी–कर्णाली करिडोर, वसन्ता करिडोर र लालझाडी–मोहना संरक्षित वनलगायतका क्षेत्र अटाएका छन् । ताल कार्यक्रम सुरु भएपछि ६८ हजार हेक्टर भन्दा बढी वन क्षेत्र पुनः स्थापित भएको वन तथा भू–संरक्षण विभागको दाबी छ । ‘ताल सुरु भएपछि नेपाल–भारत दुवैतर्फका बाघ, गैंडा जस्ता ठुला लोपोन्मुख र संकट निकट जिवजन्तु सुरक्षित गर्ने, संख्या बढाउने लक्ष्य थियो’, वन विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले भने, ‘वन्यजन्तुको संख्या सुधारसँगै वनको ठूलो क्षेत्र अतिक्रमण हुन जोगिएको छ ।’
तुलानात्मक रुपमा खाता करिडोर संवेदनशिल रहे पनि विगतको भन्दा अवस्थामा सुधार रहेको उनको तर्क छ । ताल वन्यजन्तु विभाग र वन विभागको संयुक्त कार्यक्षेत्र भित्र पर्छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल नेपाल कार्यालय) राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण साझेदारले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएका छन् । डब्लुडब्लुएफ नेपालले ५ दशकका लागि उपलब्ध गराएको आर्थिक र प्राविधिक सहयोगको आधा अवधि अझै बाँकी छ ।
सामुदायिक उपभोक्ता महासंघ लगायत अन्य स्थानीय संघ/संस्थाको प्रत्यक्ष/अप्रत्यक्ष साझेदारी र योगदानमा तालले सफलताको लय लिएको बताउँदै डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्ट भन्छन्, ‘राष्ट्र संघका विभिन्न सिद्धान्तका धेरै चरण पूरा गरेपछि ताल सर्वोत्कृष्ट सूचीमा परेको हो ।’
वनको दिगो व्यवस्थापन, वन्यजन्तु संरक्षण, सामुदायिक सचेतना, नीति र वकालत, संरक्षण शिक्षा, जलवायु परिवर्तनलगायका कार्यक्रमलाई तालले प्राथमिकता दिएको छ । सुरुका वर्षहरूमा बाघको जैविक मार्गका रूपमा अघि सारिएको यो कार्यक्रमले अहिले सबै प्रकारका जिवजन्तुको बासस्थान र विचरण क्षेत्रका रूपमा समेटेको छ ।
रेल मार्ग र मुख्य र सहायक राजमार्ग, विद्युतीय प्रशारण लाइन, जलविद्युत् आयोजना जस्ता परियोजनाले ताल क्षेत्र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अतिक्रमणमा पर्न सक्ने विज्ञहरूको चिन्ता छ । वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली भन्छन्, ‘संरक्षित क्षेत्र र आसपासका भेगमा भौतिक पूर्वाधार असाध्यै पेचिलो बनिरहेको छ, आगामी दिनमा यस्तो समस्या झनै बढ्न सक्छ ।’ यस्तो अवस्था सुधार्न तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण साझेदार, समुदाय र अन्य सरोकारवाला निकायहरूबिच समन्वय जरूरी रहेको उनको भनाइ छ ।