Friday, November 22, 2024

पारिलो प्युटार

१५ पुस, ललितपुर
निर्माण सुरु भएको साढे ६ दशकमा पनि कान्ति लोकपथ अझै अधुरो छ, पूर्ण कालोपत्रे छैन । कतिपय ठाउँमा त विपरित दिशातर्फबाट आउने सवारीलाई अघि बढ्न मौका दिनै सकस ।

सडकको सुधार र निर्माण धिमा गतिमा हुँदा दक्षिण ललितपुर काठमाडौंसँग जोडिएको ‘कर्णाली’ कहलियो । वाग्मती, महांकाल र कोन्ज्योसोम ललितपुरका दुर्गम पालिका हुन् । कान्ति लोकपथ आधाउधी धुलाम्य र साँघुरो भएकाले यी भेग चिन्न/चिनाउन अझै ‘कर्णाली’ शब्द दोहोरिन्छ, दोहो¥याइन्छ ।

मकवानपुरसँग सीमा जोडिएका वाग्मती गाउँपालिकाका गिम्दी, आश्राङ, प्युटार, माल्टा, इकुडोल, भट्टेडाँडा, घुसेल ललितपुरका दुर्गम भेग हुन् । साविकका यी ७ गाविस अहिले वाग्मती गाउँपालिकामा गाभिएका छन् । तुलनात्मक रूपमा सुगम मानिएको भट्टेडाँडा वाग्मतीको पालिका केन्द्र हो ।

वाग्मतीका ग्रामीण भेगमा सडक, विद्युत्, स्वास्थ्यचौकी (अस्पताल), खानेपानीको आधारभूत सुविधा विस्तार भएसँगै स्थानीय जिवनशैलीले आधुनिक लय पक्रदैछ । यी भेगको मुख्य मार्ग (कान्ति लोकपथ)लाई कटाक्ष गर्ने गरी ग्रामीण सडक विस्तार हुन थालेका छन् ।

कान्ति लोकपथसँगैको बगुवाबाट धनडाँडा र खैरनी बेँसीसम्म ११ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश सरकारले खैरनी बेँसीहुँदै आश्राङतर्फको ७ किलोमिटर सडक यही वर्षभित्रै कालोपत्रे गर्दैछ ।

सडक र यातायात सुविधा विस्तार भएसँगै विगतमा खेतबारीको उत्पादन बिक्री गर्न र ‘सहर’ पुग्न दिनभर लाग्ने चापागाउँ, लगनखेल (दक्षिण भेगको मुख्य व्यापारिक थलो)को दूरी घटेको छ । प्युटार र आसपासका स्थानीय २ घण्टा हाराहारीमै चापागाउँ र लगनखेल आइपुग्छन्, किनमेल गरेर सोही दिन थातथलो फर्कन्छन् । त्यसैले अब यो भेग अब ‘कर्णाली’ रहेन ।

पारिलो र रसिलो भेग प्युटारमा वर्षको ३ बाली सहजै उत्पादन हुन्छ । धान, मकै, कोदो, फापर, आलु, यहाँका मुख्य उत्पादन हुन् ।

प्युटार र पारीपट्टीको मकवानपुरको वकैया गाउँपालिकाको केराबारी फाँट (वाग्मती तटीय फाँट)मा हिजोआज ढकमक्क तोरी र पापर फुलेको छ ।

सिँचाइ सुविधा भएका पाखोबारी पनि बाँझा छैनन् । पारिलो बेँसी भएकाले केरा खेती पनि फस्टाएको छ । तामाङ, घले, क्षत्री र ब्राम्हणको मिश्रिण बस्तीको मुख्य आम्दानी खेतीपाती र पशुपालन हो ।

दैनिक २ सय लिटर हाराहारी दूध प्युटारको खैरेनीमै संकलन हुन्छ । त्यहाँ संकलित दूध पाटन औद्योगिक क्षेत्र ल्याउने गरिन्छ ।

गाउँघरमै दूधको प्रतिलिटर मूल्य ९० रूपैयाँ हाराहारी तोकिएकाले अधिकांश स्थानीयले गाइवस्तु पालेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार