Tuesday, November 26, 2024

चुरे जोगाउन सप्तरीदेखि माइतीघरसम्म पैदल

६ जेठ, चितवन
धनुषाको जनकपुर–१९ पुलचोककी ५५ वर्षीया शान्तिदेवी यादव शुक्रबार बिहान (४ जेठमा) चितवन नारायणगढको आँपटारी चोकमा चिया नास्ता गर्दै थिइन् । १९ दिनअघि घरबाट हिँडेकी उनी बिहीबार नारायणगढ पुगेकी हुन् । वैशाख १६ मा सप्तरी भारदहबाट चुरे तथा वनजंगल संरक्षण अभियान लिएर उनीसहित २२ जनाको टोलीले काठमाडौंको पैदलयात्रा सुरु गरेको थियो । दैनिक ३५/४० किलोमिटरका दरले पैदलयात्रा गरिरहेको टोली शुक्रबार नारायणगढबाट हिँडेको छ ।

शान्तिदेवीको घरमा ७ वर्षयता चैत लागेपछि चापाकल सुक्न थालेको छ । न हिउँदमा राम्रोसँग पानी पर्छ, न बैशाख–जेठमा । वन जंगल विनाशका कारण खानेपानीको संकट बढेको उनी बताउँछिन् । त्यसैले उनी पनि खानेपानीका स्रोतको संरक्षणका लागि सुरु भएको अभियानमा जोडिएकी हुन् । टोलीमै रहेका जनकपुरकै ५८ वर्षका नन्दा मुखियालाई यस्ता समस्या समाधानका लागि सरकारलाई नझकझक्याइ केही नहुने लाग्छ । आफ्नो स्वास्थ्य समस्याभन्दा सन्ततिका लागि झनै ठूलो समस्या आउने चिन्ता उनलाई छ । त्यस्तो नहोस् भनेर उनी आफ्नो औषधिको पोका नै बोकेर पैदल यात्रामा निस्केका छन् । ‘इनार, पोखरी, तलाव सबै सुक्न थाले । जीवन गाह्रो हुन लाग्यो,’ बिहानै नियमित खाने गरेको औषधिको पोका खोल्दै उनले भने ।

चुरे तथा वनजंगल संरक्षण अभियानले आयोजना गरेको पैदलयात्राका संयोजक हुन्, सुनील यादव । तराई क्षेत्रमा देखापरेको खानेपानी र सिँचाइका मूलहरूको समस्या चुरे क्षेत्रको बिनाससँग सम्बन्धित रहेको उनी बताउँछन् । बाराको सिम्रौनगढ नगरपालिका–२ महुआहीका सुनील ८ वर्षअघिसम्म कलैयाको मोटरसाइकल वर्कसपमा काम गर्थे । त्यो बेला उनले पत्रपत्रिकामा चुरे बिनास, यसको असर र जोगिने उपाय बारे समाचार र लेख पढ्थे । ‘ती पढेर मात्रै हैन कि पछि के हो भनेर मैले आफैंले पनि अध्ययन गरें, बुझें । चुरे र वनजंगल नजोगिए मधेस क्षेत्र समस्यामा पर्ने थाहा भयो । त्यसपछि चुरे जोगाउन अभियान चलाइरहेको छु,’ उनले भने ।

मधेसमा वन जंगल विनाश रोक्न सरकारी तत्परता कम भएको उनको ठम्याइ छ । ‘खास गरेर मधेस प्रदेशमा वन क्षेत्रमा सरुवा प्रक्रियाका कुनै उपयुक्त नीतिनियम नै छैन । राजनैतिक पहुँचका आधारमा एकै व्यक्ति एकै ठाउँमा वर्षौं बसेको देखिन्छ । तर संरक्षण गरेको पाइँदैन । वन अतिक्रमण हुँदा हटाएको पाइँदैन,’ उनले भने, ‘भ्रष्टाचार गर्ने र वन मास्नेलाई समाउने हैन, सघाउने नियत राखेको पाइन्छ ।’ त्यसैले उनीहरू १२ बुँदे सुरधारका योजनासहित ज्ञापनपत्र बोकेर पैदलयात्रामा निस्केका हुन् ।

२ वर्षभन्दा बढी वन क्षेत्रमा कार्यालय प्रमुख भएर बसेका कर्मचारीलाई तत्काल सरुवा गर्न उनीहरूको माग छ । चुरे क्षेत्रका खोलाहरूमा हुने अवैध क्रसर धन्दा र गिट्टीबालुवा दोहन रोक्न ठोस कदम चाल्नुपर्ने पनि उनीहरूको भनाइ छ । मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी डढेलो नियन्त्रणका योजना बनाउन र ओमप्रकाश भनिने दिलीप महतोलाई प्रथम संरक्षण सहिद घोषणा गर्न पनि उनीहरूले माग गरेका छन् ।

सुनील वर्ष दिनभित्र दोस्रो पटक पैदल काठमाडौं जान लागेका हुन् । गत वर्ष जेठमा उनले वीरगन्ज हुँदै बग्ने सिर्सिया खोलामा भएको प्रदूषणको विषयलाई लिएर भारदहदेखि काठमाडौंसम्म र पछि फेरि भारदहदेखि वीरगन्जसम्म पदयात्रा गरेका थिए । त्यो बेला गृहमन्त्री, उद्योग मन्त्रीले समस्या निराकरणका लागि पहल गर्ने वचन पनि दिए । तर अहिलेसम्म केही परिणाम नदेखिएको उनी सुनाउँछन् । यो पटक १२ बुँदे मागमा उनीहरूले सिर्सिया खोलाको विषयलाई पनि उठाएका छन् ।

वन संरक्षणमा सरकारी निकायबीच नै समन्वयन हुन नसकेको सुनील बताउँछन् । सिरहामा एउटा सिमेन्ट उद्योगले चर्चेको जग्गा वन कार्यालयले खारेज गरे पनि मालपोत कार्यालयले त्यसलाई मान्यता नदिएको उनले बताए । ‘यस्ता अनियमितताका विषय अनेकौं छन् सबैको उचित तरिकाले छानबिन होस् । मान्छेलाई चाहिने पानी हो पानीका लागि रुख जोगाऔं, चुरे जोगाऔं । यसो भएमा मधेस मात्रै हैन देश नै जोगिन्छ,’ सुनीलले भने ।

पैदलयात्रामा सहभागी २२ जनामध्ये १३ महिला छन् । काठमाडौंको माइतीघरमा पैदलयात्रा समापन गर्ने र मुख्य दलका केन्द्रीय कार्यालयमा दिनको एक घण्टा धर्नासहित ज्ञापनपत्र बुझाउने सुनीलले बताए । ‘सरकारले तत्काल सुन्छ जस्तो त लाग्दैन । तर हामी हार मान्नेवाला पनि छैनौं । समाज र देशका लागि राम्रो होस भनेर सरकारसँग मागेको कुरा हो,’ काठमाडौंतर्फ बाटो लाग्दै गर्दा शान्तिदेवी सुनाइन् । अबको ४ दिनभित्र काठमाडौं पुग्ने उनीहरूको अनुमान छ ।

कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार