Saturday, July 27, 2024

फुस्स्रो सारौं नेपालका लागि नयाँ प्रजाति

४ जेठ, काठमाडौं
अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङमा नयाँ पक्षी फेला परेको छ । लोमान्थाङको ३ हजार ८ सय ४० मिटरको उचाइमा फुस्स्रो सारौं भेटिएको हो ।

पक्षी पथप्रर्दशक शंकर तिवारीले लोमान्थाङमा यो पक्षीको तस्बिर कैद गरेका हुन् । तिवारीले गत महिना (२५ वैशाखमा) लोमान्थाङमा भेटेको पुस्स्रो सारौं नेपालका लागि पहिलो भएको नेपाल पछीविद् संघको दाबी छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय पक्षीविद्हरूको राय सुझाव, तस्बिर र अन्य तथ्यका आधारमा यो पक्षी नेपालका लागि पहिलो पुष्टि भएको संघका अध्यक्ष डा. तुल्सी सुवेदी बताए ।

उनले भने, ‘फुस्स्रो सारौं विगतमा पनि नेपालका उत्तरी भेगहरूमा रहेको हुन सक्छ, तर पर्याप्त अध्ययन अनुसन्धान नभएकाले यसअघि आधिकारिक अभिलेखमा थिएन । हालै लोमान्थाङमा भेटिएको पहिलो आधिकारिक अभिलेख हो ।’ नेपालमा सारौंका विभिन्न ११ प्रजाति पहिचान भएका छन् । सारौंलाई नेपालका विभिन्न भेगमा रूपी, डाङ्ग्रे, मैना जस्ता नामले चिन्ने गरिन्छ ।

अङ्ग्रेजीमा ‘वाइट चेक्ड स्टारलिङ’ र ‘ग्रे स्टारलिङ’ भनिने फुस्स्रो सारौंको नियमित उपस्थिति क्षेत्र पूर्वी एसियाका चीन, मंगोलिया, जापान, उत्तर कोरिया, रूस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा पाइएको छ । त्यसैगरी, लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते प्रजातिका रूपमा अभिलेख भएको छ ।

अनुसन्धाताहरूले चराका प्रजातिलाई रैथाने, नियमित आगन्तुक, बटुवा र फिरन्ते सूचीमा सूचीकृत गर्दै आएका छन् । आक्कल झुक्कलमात्रै देखिने फिरन्ते र एक देशहुँदै अर्को देशतर्फ बसाइँ सराइँ गर्ने बटुवा सूचीका हुन् । फुस्स्रो सारौं यसअघि नेपालमा कुनै सूचीमा थिएन । बसाइँ सराइका क्रममा यो पक्षी मुस्ताङमा भेटिएको हुन सक्ने विज्ञहरूको ठहर छ ।

पछीविद् संघले नयाँ भेटिएका पक्षीहरूको अभिलेख अद्यावधिक गर्दै आएको छ । त्यसैगरी कुनै भूगोल विशेषमा विरलै भेटिएका प्रजातिबारे पनि संघले अध्ययन अनुसन्धान गर्दै आएको अध्यक्ष सुवेदीले बताए । फुस्स्रो सारौं लोमान्थाङमा भेटिएसँगै नेपालभित्र अभिलेख भएका पक्षीका प्रजाति ८ सय ९५ पुगेका संघ मातहतको नेपाल बर्ड रेकर्ड कमिटिले जनाएको छ ।

नेपालमा रैथाने पक्षीहरूका ६ सय हाराहारी प्रजाति छन् । ७५ प्रजाति फिरन्ते सूचीमा छन् । हिउँदयाममा जाडो छल्न १ सय ५० हाराहारी र गर्मीयाममा ६२ प्रजाति पक्षी नेपाल आउने गरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार