२० वैशाख, काठमाडौं
देशभर वन डढेलो र आगलागीका घटनाले जनधनको क्षति बढिरहेका बेला नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले यो अवस्थाप्रति गम्भीर बन्न सरकार र अन्य सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
मानवीय हताहती र जनधनको क्षतिका घटनाप्रति चासो नलिँदा अवस्था अझै भयावह बन्न सक्ने समूहको ठहर छ । विगतका घटनाहरूबाट पाठ नलिँदा आगामी वर्षहरूमा वन जंगल र जनधनको क्षति भयावह बन्ने भन्दै समूहले बिहीबार (२० वैशाखमा) विज्ञप्ति जारी गर्दै भनेको छ, ‘डढेलोका घटनाहरू आगामी वर्षहरूमा अझै बढेर जाने र ‘हरियो वन नेपालको धन’ आख्यानमा मात्रै सीमित हुन सक्ने देखिन्छ ।’
जलवायु परिवर्तनका कारण संसारभर डढेलोका घटना बढ्दै जाने जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसीसी)ले पटकपटक आफ्ना प्रतिवेदनहरूमा उल्लेख गर्ने गरेको छ । हरेक वर्ष हिउँद र वर्षाका बिचको सुख्खायामको समय बढ्दै गएको विभिन्न निकायका अनुसन्धानले देखाएको छ ।
तालिम प्राप्त अग्नि नियन्त्रक जनशक्ति र निभाउने आधुनिक स्रोत साधन पर्याप्त नहुँदा नेपालमा हरेक वर्ष डढेलोले जनधनको क्षति बढ्दै गरेको छ । वैशाख १ यता आगलागी र डढेलोबाट १६ जनाको मृत्यु भएको छ ।
त्यसअघि गत २७ चैत र ३० चैतमा डोल्पाको सामुदायिक वनको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका ३ जना सैनिक र ३ जना बालकको उपचारका क्रममा ज्यान गएको थियो । मंगलबार (१८ वैशाखमा) घर नजिकैको तप्तेश्वर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा गम्भीर घाइते भएका ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलाका शंकर र रमेश पहरीको उपचारका क्रममा निधन भएको छ ।
नेपालमा वार्षिक २ हजार ५ सय हाराहारी डढेलोका घटना हुने गरेको र यस्तो समस्या तुलनात्मक रूपमा चैत वैशाखमा बढी हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अभिलेख छ । यो वर्ष वैशाख महिनायता दैनिक औसतमा ३ सय हाराहारी डढेलोका घटना भएका छन् । प्राधिकरणका डढेलो रोकथाम सम्बन्धी विज्ञ सुन्दर शर्माकाअनुसार वैशाख महिना सुरु भएपछि ५० भन्दा बढी जिल्लाका वनमा डढेलो फैलिएको छ ।
डढेलो नियन्त्रण र राहत वितरणलाई गम्भीर रूपमा ध्यान दिन आग्रह गरेको नेवापसले यो अवस्थालाई आपतकालीन स्थिति घोषणा गर्न समेत भनेको छ । ‘सुख्खा मौसम सुरु हुनु अगावै सतर्कता नअपनाउँदा हरेक वर्ष जनधनको क्षति बढिरहेको छ, अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न आपत्कालीन स्थितिको घोषणा गर्न समेत आग्रह गर्दछौं ।’
साथै सुख्खायाम लगत्तै सुरु हुने वर्षायाममा हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि अहिलेदेखि नै गृहकार्यमा जुट्न तीनै तहका सरकारलाई समूहले ध्यानाकषर्ण गराएको छ ।