Tuesday, April 22, 2025

तस्करको निशानामा रेडपाण्डा

काठमाडौं– पछिल्लो समयमा लोपोन्मुख अवस्थामा रहेका रेडपाण्डा (हाब्रे) तस्करी बढेको छ।

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी जिल्ला वन कार्यालय काठमाडौँको विसं २०७४ को तथ्यांक हेर्दा सबैभन्दा बढी रेडपाण्डाको छालाको बिक्री तथा ओसारपसारका घटना देखिएका छन्।

वन कार्यालयका अनुसार यस वर्ष काठमाडौँमा मात्रै १५ थान रेडपाण्डाको छाला ओसारपसारका घटनामा ३५ जनालाई कारबाही गरिएको छ।

यसबाहेक नौ थान चितुवाको छाला ओसारपसारमा २४ जनालाई कारबाही गरिएको जिल्ला वन अधिकृत रामबाबु पौड्यालले जानकारी दिए।

सालक वन्यजन्तु तस्करको तेस्रो रोजाइमा परेको छ। उक्त विवरणअनुसार यस वर्ष १ सय ७७ किलोग्राम सालकको खपटा ओसारपसारमा संलग्न नौ जनालाई कारबाही गरिएको उनले बताए।

जिल्लामा रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अंगको तस्करीको घटनाका ३३ मुद्दा दायर भएका छन्।

नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा अमेरिकासम्म हुने गरेको छ।

संरक्षित वन्यजन्तुसम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर हुन्छन् भने संरक्षित सूचीमा नभएका वन्यजन्तुको मुद्दाको कारबाही जिल्ला वन कार्यालयले नै गर्ने गर्दछ। कतिपय अवस्थामा केही लोभ र अज्ञानताका कारण पनि सामान्य मानिस पक्राउ पर्ने गरेका छन्।

वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कानूनका बारेमा ग्रामीणस्तरसम्म सचेतना जगाउनुपर्ने आवश्यकता रहेको औंल्याइएको छ। नेपालबाट अधिकांश वन्यजन्तुका अंगको तस्करी काठमाडौँ हुँदै चीन, मलेशिया, जापान, युरोप तथा अमेरिकासम्म हुने गरेको छ।

काठमाडौँबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ। चिनियाँ परम्परा, सहज ओसारपसार, सौखिन जीवनशैलीलगायत कारण चीनमा वन्यजन्तुको बढी माग हुने गरेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले बताए।

केन्द्रीय राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका घटनामा संलग्नलाई नेपाल प्रहरीले पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अनुपमशम्शेर राणाका अनुसार अधिकांश पैसाको लोभमा वन्यजन्तुका अंग ओसारपसार गर्दा निम्नवर्गका व्यक्ति पक्राउ पर्ने गरेका छन्।

त्यस्ता व्यक्ति वन्यजन्तुका अंग बेच्न व्यापारी खोज्दै जाँदा हल्ला हुने र प्रहरी कहाँ सूचना पुग्ने गरेको छ। यसबाहेक नेपाललाई पारवहन मार्ग बनाई अन्तर्राष्ट्रिय व्यापार गर्ने ठूला तस्कर थोरै मात्रामा पक्राउ पर्ने गरेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार