Monday, May 20, 2024

डढेलो रोकथाम गर्न धिमेबाजासहितको कार्यक्रम

२५ वैैशाख, भक्तपुर 
देशभर वन डढेलोका घटना बढिरहेका बेला भक्तपुरमा यस्ता घटना न्युनीकरणका लागि धिमेबाजासहितको सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयबाट सुरु भएको जनचेतना अभियान सोही वडाका विभिन्न भेगहुँदै डोलेश्वर महादेव मन्दिर परिसर पुगेर डढेलो नियन्त्रणबारेको सभामा केन्द्रित भयो । सामुदायिक वन उपभोक्ता महासंघ (जिल्ला महासंघ भक्तपुर)ले आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिधि, वन अभियन्ता, वन विज्ञ, डिभिजन वन कार्यालयका अधिकारीहरू, वन उपभोक्ता, अन्य सरोकारवाला सहभागी भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वन डढेलो विज्ञ सुन्दर शर्माले हरेक वर्ष डढेलोका घटना बढिरहँदा सरकार र सबै सरोकारवाला निकायहरूले प्रभावकारी कदम चाल्न ढिलो भएको बताए । उनले भने, यस्तो प्रकृतिको क्षति न्यूनीकरण गर्न लागि तीनै तहका सरकारहरूबिच समन्वयका खाँचो छ, सुख्खा मौसम सुरु हुनु भन्दा अगाडि नै अग्नी रेखा निर्माण गर्दै अन्य तयारीमा जुट्नुपर्छ ।’ शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलो रोकथाम विज्ञ हुन् ।

तालिम प्राप्त अग्नि नियन्त्रक जनशक्ति र आगो निभाउने आधुनिक स्रोत साधन पर्याप्त नहुँदा नेपालमा हरेक वर्ष डढेलोले जनधनको क्षति बढ्दै गरेको छ । नेपालमा वार्षिक २ हजार ५ सय हाराहारी डढेलोका घटना हुने गरेको र यस्तो समस्या तुलनात्मक रूपमा चैत वैशाखमा बढी हुने प्राधिकरणको अभिलेख छ । यो वर्ष वैशाख महिनायता दैनिक औसतमा ३ सय हाराहारी डढेलोका घटना हुने गरेका छन् ।

नेपालमा अधिकांश डढेलोका घटना नियोजितरूपमा हुँदै आएको प्रमाणित भए पनि यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही नगर्दा अवस्था जटिल बन्न थालेको कार्यक्रमका अन्य वक्ताहरूले बताए । सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिम्सिना भट्टराईले डढेलोको क्षति घटाउन र हरियाली प्रवद्र्धन गर्न समुदाय, विद्यालय र समाजका अन्य निकायहरूको संलग्नतामा निरन्तर सचेतनामुलक कार्यक्रम जरूरी रहेकोमा जोड दिइन् ।

हरियाली प्रवद्र्धन गर्न आफ्नो नगर सहरी वनको अवधारणामा अघि बढेको बताउँदै उनले भनिन्, ‘वनको पत्कर, झारपात र झाडी संकलन गरी बायो विग्रेट बनाउन सक्दा स्थानीयस्तरमा रोजगारी सिर्जना हुन्छ, डढेलो लाग्ने घटना पनि कम हुन्छन् ।’ वन केन्द्रित आयआर्जन र हरियाली प्रर्वद्धनका लागि सूर्यविनायक नगरले आगामी बजेटमार्फत विशेष कार्यक्रम सार्वजनिक गर्ने तिम्सिनाले प्रतिबद्धता जनाइन् । सूर्य विनायक–८का वडाध्यक्ष पुष्पराज बस्नेतले पनि यस्तै प्रतिवद्धता जनाउँदै आगामी १ वर्षभित्रमा आफ्नो वडाभित्र २ वटा रिचार्ज पोखरी तयार हुने जानकारी दिए ।

कार्यक्रममा बोल्दै वनविज्ञहरू विजयराज पौडेल, सुवास देवकोटा, पारिवारिक निजी वन संघ नेपालका अध्यक्ष जोगराज गिरीलगायतले डढेलो नियन्त्रणका लागि तालिम प्राप्त जनशक्तिसहित पूर्व तयारी आवश्यक रहेकोमा जोड दिए । सुख्खायाम अगावै सचेतना कार्यक्रम, नियन्त्रणका विविधि उपाय अवलम्बन गर्न तीनै तहका सरकार र अन्य निकायसँगको सहकार्य हुनुपर्ने उनीहरूको भनाइ थियो ।

भक्तपुरमा ६० वटा हाराहारी सामुदायिक वन छन् । यसअघि गत साता जिल्लाका सबै सामुदायिक वन केन्द्रित डढेलोका घटना, जनधनको क्षति रोकथाम तथा पूर्व तयारीमा अपनाउनुपर्ने कदम लगायतका विषय केन्द्रित कार्यशाला चाँगुनारायण नगरपालिका र सूर्य विनायकको सिपाडोलमा भएको थियो ।

नेपालका लागि अस्टे«लियाली दूतावासको आर्थिक सहयोग तथा नेपाल अस्टे«लिया अल्मुनाई संघ (अन्ना) र विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयोजन एवं प्राविधिक सहयोगमा भक्तपुर केन्द्रित यस्तो कार्यक्रम भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान