Friday, September 27, 2024

चाँगुनारायणमा वायु गुणस्तर कार्ययोजना

२० वैशाख, काठमाडौं
काठमाडौं उपत्यकाको वायु गुणस्तर फितलो बनिरहेका बेला भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर कार्ययोजना तयार गरेको छ ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न नगरबासीको सहभागितामा कार्ययोजना बनाइएको हो । आगामी २ वर्षभित्र कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्ने यो नगरको लक्ष्य छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये यस्तो कार्ययोजना तयार गर्ने आफ्नो आफ्नो तह पहिलो भएको नगर प्रमुख जीवन खत्रीको दाबी छ ।

नगरले निर्माण गरेका तथा आगामी दिनमा निर्माण गर्ने मुख्य सडक र पदमार्ग एवं खुला क्षेत्र वातावरणमैत्री बनाउने, ठुला मालवाहक सवारी साधनलाई निश्चित समयमा मात्र आवतजावत अनुमति दिने योजना छ । नदी किनारामा करिडोर निर्माण गर्ने, सडक मर्मत सुधार छिटो गर्ने, विकास पूर्वाधार निर्माणका क्रममा धुलो न्यूनीकरण गर्ने, नगर भित्रका इँटा तथा अन्य उद्योगका उत्सर्जन घटाउने कार्य कार्ययोजनामा समेटिएको छ । चाँगुनारायण नगरक्षेत्रमा ५२ वटा इँटा उद्योग छन् ।

त्यसैगरी, कृषि क्षेत्रमा कीटनाशक विषादी प्रयोगबाट हुने प्रदूषण न्यूनीकरण गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्ने नगरले जनाएको छ । नगरपालिका, ट्राफिक कार्यालय, यातायात व्यवसायी, उद्योगी, निजी क्षेत्र, वित्तीय संघ संस्था, सडक विभाग, विद्युत प्राधिकरणलगायतका निकायसँगको समन्वय र सहकार्यमा कार्ययोजना कार्यान्वयन हुने नगर प्रमुख खत्रीको भनाइ छ ।

काठमाडौं उपत्यकाको वायु गुणस्तर सुधारका लागि सरकारले ४ वर्षअघि (२०७६मा) कार्ययोजना स्वीकृत गरेको थियो । सो कार्ययोजना कार्यान्वयनको समन्वय तथा नीतिगत विषयमा निर्देशन दिन र आवश्यकताअनुसार क्रियाकलाप पुनरावलोकन गर्नका लागि वन तथा वातावरणमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भएको छ ।

वायु गुणस्तरबारे विश्वव्यापी अनुगमन गर्ने स्विस कम्पनी आइक्युएयरलगायत संघ/संस्थाको अनुगमनमा काठमाडौं उपत्यकासहित नेपालका धेरै भू–भागमा प्रदूषणको मात्रा बढिरहेको छ । गत चैत महिनायता उपत्यकाको वायु गुणस्तर खस्किरहेको छ । आज बिहीबार (२० वैशाखमा) उपत्यकाको वायु गुणस्तर सुचकांक (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिकोणले घातक तह नजिक छ ।

बिहीबार दिउँसो अमेरिकी दूतावासको फोहोरा दरबारको एक्युआई १६२, भक्तपुरको ताथलीको १३९, रत्नपार्कको १३२, महाराजगञ्जस्थित अमेरिकी दूतावास र आसपासका भेगमा १२९ रहेको थियो । १५० भन्दा माथिको एक्यूआई मानव स्वास्थ्यका दृष्टिले जोखिम मानिने चिकित्सकरू बताउँछन् ।

हरेक घन्टाको अनुगमनमा बिहीबार दिउँसो ललितपुरको भैंसेपाटीको वायु गुणस्तर जोखिम तहभन्दा माथि पुगेको थियो । भैंसेपाटीको गुणस्तर खस्किएर एक्यूआई ३३० पुगेको वातावरण विभागले जनाएको छ । एक्यूआई यो तह स्वास्थ्यका दृष्टिले निकै जोखिम हो । २४ घन्टाको अनुगमनमा भने भैंसेपाटी र उपत्यका अन्य भेगको एक्यूआई २ सय भन्दा कम रहेको विभागको अभिलेख छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार