१६ वैशाख, नवलपुर/बाँके
गत चैत पहिलो सातादेखि नवलपुरका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । दैनिक सरदर १५ देखि २० ठाउँमा डढेलो लाग्ने गरेको छ ।
बढ्दो गर्मी, तातो हावासँगै चालु आर्थिक वर्षमा एक सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले बताए । उनले भने, ‘नवलपुरमा ८० प्रतिशतभन्दा बढी सामुदायिक, मध्यवर्ती, कबुलियतीलगायतका समुदायमा आधारित वन छन्, तीमध्ये एक सयभन्दा बढी सामुदायिक वनका २ हजार ५ सय ५३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।’
मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा रहेका वन सबैभन्दा बढी प्रभावित भएका लम्सालले जानकारी दिए । पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएकाले स्याउला र माटोकै भरमा वन डढेलो निभाउनुपर्ने बाध्यता रहेकाले पनि नियन्त्रणमा चुनौती रहेको उनको भनाइ छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका सचिव सुशील पौडेलले वन डढेलोका कारण जङ्गलको बीचमा र जङ्गल नजिकका गाउँहरू जोखिम रहेका बताए ।
मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढ्दै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ । ‘डढेलो लगाएपछि वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढीमात्रामा जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ । यस्तो सोचाइमा परिवर्तन ल्याउनका लागि राज्यलगायत सबै सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ’, उनले भने ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले पनि मानवीय लापरवाहीका कारण वन डढेलोका घटना बढिरहेको बताउँदै त्यस्ता प्रवृति निरुत्साहित गर्न जरूरी रहेका बताए ।
२ हजार किलोमिटर अग्नी रेखा
डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले २ हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ । तुलनात्मक रूपमा डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा प्रभावकारी बनेपछि निकुञ्जले यो अभ्यासलाई प्राथमिकता दिएको हो ।
बाँके निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले भने, ‘डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ । अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।’ डढेलो नियन्त्रण गर्न तालिम प्राप्त सेना र कर्मचारी रहने गरी ¥यापिड फायर टिम (आरआरटी) लाई २४सै घण्टा तयारी अवस्थामा राखिएको छ ।
निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने वित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने साहको भनाइ छ । आगलागीले निकुञ्जका वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षतिको विवरण नभएको उनको दाबी छ । ‘ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ’, उनले भने ।
बाँके निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिङ्गर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिङ्गर विस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिङ्गरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ । विगतका अग्नि रेखाको मर्मत सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रूपमा हुने गरेको साहले बताए ।
रासस