Tuesday, October 22, 2024

पृथ्वी दिवसमा सम्पदा क्षेत्रको सफाई

९ वैशाख, काठमाडौं 
उपत्यकाका सम्पदास्थलको सरसफाई सुरु भएको छ । स्वयम्भु, पशुपतिनाथ र बौद्ध क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियानको थालनी भएको हो ।

विश्व पृथ्वी दिवसको पूर्वसन्ध्यामा सुरु भएको यो कार्यक्रम वाग्मती नदी सफाई अभियानझै निरन्तर चल्ने अभियन्ताले बताएका छन् । शनिबार (८ वैशाखमा) स्वयम्भु क्षेत्रको सरसफाई गरी आरम्भ भएको कार्यक्रम आज आइतबार पशुपति मन्दिर परिसरमा केन्द्रित थियो ।

सहर र वस्तीमा फोहोर मैला बढाउने मुख्य कारक प्लास्टिक बनिरहेका बेला यस वर्षको विश्व पृथ्वी दिवसको नारा ‘पृथ्वी र प्लास्टिक’ रहेको छ । भावी सन्ततीको भविष्यका लागि प्राकृतिक स्रोत जोगाउनुपर्ने मनन् गर्दै ५ दशकअघि २२ अप्रिल सन् १९७०मा पहिलो पटक यस्तो दिवस मनाइएको थियो ।

दिवसकै दिन भोलि सोमबार विहान ७ देखि ९ बजेसम्म बौद्धनाथ क्षेत्रमा सरसफाई कार्यक्रम तय गरिएको छ । पुर्वमुख्य सचिव एवं चीनका लागि पूर्व राजदूत लीलामणि पौडेल, युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछे, संघीय सांसद तारा लामा तामाङ, सफाई अभियानमा क्रियाशील संघ/संस्थालगायतले सफाई अभियानको नेतृत्व लिएका छन् ।

प्लास्टिक, सिसा, कागज र कागजजन्य वस्तु, कपडालाई छुटाछुट्टै संकलन गरी संकलित फोहोरलाई अधिकतम् पुनः प्रयोगमा ल्याइने अभियन्ताहरूको भनाइ छ । फोहोर संकलनका लागि भिन्नाभिन्नै ६ प्रकृतिका झोला प्रयोग गर्ने गरिएको छ ।

संकलित फोहोरलाई छुट्याएर मात्रै ल्यान्डफिल साईट पठाउँदा ल्यान्डफिलको आयु बढ्ने बताउँदै अभियन्ता रिन्पोछे भन्छन्, ‘फोहोर संकलन गरेर मात्रै हुँदैन, संकलित फोहोरलाई पनि पुनः प्रयोग गर्ने संघ/संस्थालाई उपलब्ध गराउन सक्दा अभियानले उपलब्धी पाउछ ।’

फोहोर घटाउन मनैदेखि र घरैदेखि कार्यक्रम सुरु हुनुपर्ने पूर्व मुख्य सचिव पौडेलको तर्क छ । उनी भन्छन्, ‘साग फलफूल र सब्जी किन्न बजार निस्किँदा पसलेले बेच्ने सातपात मात्रै घर ल्याऔं । किनमेलमा कपडाका झोलाको प्रयोग नियमित गर्दा फोहोरको मात्रा स्वतः घट्छ, आफू मात्रै होइन, अन्यलाई पनि यस्तो बानी लगाऔं ।’

वाग्मती नदी सफाईले निरन्तरता पाएझैं सम्पदा र सार्वजनिकस्थलको सफाई नियमित भएमा मात्रै फोहोर घट्ने र प्रदूषित वातावरणमा सुधार आउने अभियन्ताहरूको भनाइ छ । शनिबार स्वयम्भु र आइतबार पशुपति क्षेत्रमा भिछुहरू, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि, विभिन्न संघ/संस्थामा आवद्ध युवा अभियन्ता सहभागी भए ।

ताजा समाचार

सम्बन्धित समाचार