Wednesday, November 27, 2024

अजिङ्गरका बासस्थान तितरबितर

३ वैशाख, विराटनगर   
पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही चार लेन सडक विस्तारका क्रममा रुख कटानपछि बासस्थान मासिँदा त्यहाँ आश्रित पन्छी, सरीसृप, तथा वन्यजन्तु तितरबितर भएका छन् । सँगै दुर्लभ वनस्पतिसमेत मासिएको भन्दै संरक्षणकर्मी चिन्तित बनेका छन् ।

गत फागुन दोस्रो सातादेखि राजमार्गका रुख तथा वोटविरुवा काट्ने काम सुरु भएको थियो । त्यसको करिब महिना दिनपछि गत चैत २० मा मेचीनगर–७ सतिघट्टा चिया बगान क्षेत्रमा एउटा अजिङ्गर स्थानीयले फेला पारे ।

करिब ९ फिट लामो सर्प देखेपछि स्थानीयले उद्धारकर्मीहरुलाई खबर गरेका थिए । लगत्तै संरक्षणकर्मीहरू शंकर लुइँटेल, देवेन खरेल, सन्दीप लुइँटेल र मुन्ना कार्की घटनास्थल पुगे । उनीहरूले अजिङ्गर उद्धार गरी पाँचपोखरी सामुदायिक वनमा छाडिदिए । ‘एकछिन ढिलो पुगेको भए केही स्थानीयले अजिङ्गर मार्ने सम्भावना थियो,’ उद्धारकर्मी सन्दीप लुइँटेलले सुनाए,‘ढुंगामुढा हान्न सुरु भएको रहेछ । समयमै उद्धार भएपछि अजिङ्गरको ज्यान बच्यो ।’

चैत २४ मा मेचीनगर–४ आमडाँगी क्षेत्रमा त्यसैगरी स्थानीयले अर्को अजिङ्गर देखे । संरक्षणकर्मीसहितको स्थानीय टोलीले ५ फिट लामो अजिङगर उद्धार गरी तेलपानी सामुदायिक वन क्षेत्रमा छाडिदियो । ३० चैतमा पुनः राजमार्गको रुख कटान क्षेत्रमै तेस्रो अजिङ्गर फेला पर्यो । मेचीनगर–७ जोरसिमलको फेला परेको ७ फिटको अजिङ्गरलाई पनि उसैगरी सीमसार क्षेत्रमा छाडियो ।

सडक स्तरोन्नतिका नाममा राजमार्ग आसपासका वर्षौं पुराना रुख काटिँदा वर्षौंदेखि त्यहाँ आश्रित अजिङ्गर ज्यान जोगाउन तितरवितर भएको संरक्षणकर्मी बताउँछन् । संरक्षणकर्मी शंकर लुइँटेलले भने,‘जब रुख काट्न सुरु भयो, अजिङ्गर ज्यान जोगाउन कोही उत्तरतिर त कोही दक्षिणतिर लागेको देखियो ।’

अजिंगर प्रायः घना जंगल र ओसिलो (सीमसार) जमिनमा बस्न रुचाउँछ  । रूखको ठूला–ठूला मुढा, टोड्का र सुकेका पातमा पनि लुकेर बस्छ । कहिलेकाहीँ नदी र ठूला पोखरीआसपास घाँसे मैदानमा पनि भेटिन्छ । ‘रुख काट्दा अजिङ्गरको बासस्थान पनि मासिएको छ,’ लुइँटेलले थपे,‘त्यही भएर अजिङ्गर ज्यान बचाउन तितरबितर भएका हुन् ।’ झापाको जलथल, चारआलीलगायतका क्षेत्र अजिङ्गरको मुख्य बासस्थान हो ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार काँकडभिट्टा–लौकहीसम्मको १ सय २० किलोमिटर लामो सडक स्तरोन्नति हुँदैछ । सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र वन क्षेत्रमा २४ मिटर चौडामा सडक विस्तार गरिँदैछ । त्यस क्रममा १२ हजारभन्दा बढी रुख काटिँदै छ ।

चरा तथा वन्यजन्तु खोजकर्ता देवेन्द्र खरेलका अनुसार रुख कटानपछि वर्षौं पुराना रुख र त्यसका टोड्काहरूमा आश्रित विभिन्न प्रजातिका सयौं चराचुरुङ्गी विस्थापित भएका छन् ।

खोजकर्ता खरेलका अनुसार मेचीनगर क्षेत्र करिब ३ सय ३७ प्रजातिका चराचुरुङ्गीको बासस्थान हो । त्यसमध्ये भुँडीफोर गडुल, तीन थरिका बकुल्ला, जलेवा, कर्रा सावरीजस्ता चराको बासस्थान हो ।

राजमार्गआसपासका रुखलाई तिनले बासस्थान बनाएका थिए । विकास निर्माणका काम अगाडि बढाउँदा पर्यावरणलाई पनि ख्याल गर्नुपर्ने खरेलको भनाइ छ । उनले थपे,‘विकासका नाममा राजमार्ग त बन्दै छ । सँगसँगै यसले पर्यावरणलाई ध्वस्त मात्रै पारेको छैन, चरा, पशुपन्छी र जंगली जनावरलाई लखेट्ने काम भएको छ ।’

–कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार