Wednesday, November 27, 2024

डढेलोले जोखिममा वन्यजन्तु

२८ चैत, काठमाडौं  
चितवन राष्ट्रिय निकुञ्जका खरमजुरका बचेरा र अन्डा डढेलोको सिकार बनेका छन् ।

खडेरीका कारण डढेलो लाग्न थालेपछि अन्डा, बच्चा र माउ सखाप हुने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘निकुञ्जभरि आगो लाग्ने र चराले बचेरा कोरल्ने समय एउटै पर्छ, त्यसैले ठुलो क्षति हुन्छ,’ उनले भने । रूखको टुप्पामा बस्नेभन्दा बुट्यान र झाडीमा बस्ने चरा डढेलोले बढी प्रभावित हुन्छन् ।

लजालु चरा खरमजुरले आगो लागेर छेउमै आइपुग्दा पनि गुँड छाड्न मान्दैन । अन्तिम अवस्थामा मात्र उड्न खोज्छ । घाँसे मैदानमा रहने हुनाले डढेलोमा बचेरा र अन्डा बच्ने सम्भावना रहँदैन । अन्डाबाट निस्केलगत्तै बचेरा हिँड्न थाल्छन् तर प्वाँख नपलाएकाले उड्न सक्दैनन् । 

डा. बरालले कोशी, बर्दिया, चितवन र शुल्काफाँटामा पाइने लोपोन्मुख प्रजातिको खरमजुरको संख्या डढेलोकै कारण ४० वर्षयता नेपालमा घट्दो क्रममा रहेको जानकारी दिए । उनकाअनुसार खरमजुरसहित ८० प्रतिशत रैथाने चराले बचेरा कोरल्ने समयमा डढेलो बढेको छ । बसाइँ सरेर नेपाल आएका चरा बच्चा कोरल्न व्यस्त रहेका बेला डढेलो लागेकाले तिनीहरूको प्रजनन क्रिया बिथोलिएको छ ।

त्यस्तै मुरलीचरी, सुनचरी, स्वर्गचरी, डलर बर्डलगायत ६२ प्रजातिका चरा बच्चा हुर्काउन नेपाल आउने गरेका छन् । स्थानीय मजुर, लुइँचे, वनकुखुरा, गौँथली, माटिकोरे, हलेदो, ढुकुर, कोकले, चिबे, धनेस पनि डढेलोको चपेटामा परिरहेका छन् । पानी चराले प्रजनन गर्ने वातावरण डढेलोले प्रभावित बनेको छ । तराई–मधेश छोएका राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा छन् ।

छैनन् आधुनिक उपकरण

राष्ट्रिय निकुञ्ज विभागका प्रवक्ता वेदकुमार ढकालले राष्ट्रिय निकुञ्जमा डढेलो निभाउन अत्याधुनिक प्रविधि व्यवस्था नभएको बताए । ‘धुवाँ, खरानीको धुलोले बाक्लो तुवाँलो बनेको छ । कतै घाइते भएका प्राणी र चराका उद्धार गर्न पनि कठिनाइ भइरहेको छ’, उनले भने ।

चितवन जस्तै तराई र तराई छोएका निकुञ्जको अवस्था डढेलोमय छ । निकुञ्जका अनुसार पुरानो चलन अनुसार अग्निरेखा बनाएर आगो निभाउने गरिन्छ । रिजर्भ ट्याङ्की र छुट्टै पोखरी बनाउन सके डढेलो केही हदसम्म रोक्न सकिने ढकालले बताए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरणका डढेलोविज्ञ सुन्दर शर्माले डढेलोले हुने पन्छी र वन्यजन्तुको क्षतिको छुट्टै अध्ययन गरेर न्यूनीकरणको योजना बन्नुपर्नेमा जोड दिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डीलबहादुर पुर्जा पुनले ठुला वन्यजन्तु भागेर बाँच्ने र डढेलोमा अनुकूलित हुने गरेको जानकारी दिए । ‘साना वन्यजन्तु, माटोमुनि बस्ने, घस्रिने वन्यजन्तु डढेलोमा धेरै मर्छन्’, उनले भने, ‘डढेलोले वनको खाद्यचक्र प्रभावित हुँदा बाघ, हात्ती, गैंडा मानव बस्ती पस्ने र द्वन्द्व सिर्जना हुन्छ ।’

–गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार