Monday, May 20, 2024

कतारले लाँदैछ नेपालका २ वटा हात्ती

२७ चैत, काठमाडौं 
खाडी राष्ट्र कतारले नेपालबाट २ वटा हात्ती लाने भएको छ । सरकारले उपहारस्वरूप कतारलाई एक भाले र एक पोथी हात्ती दिने तयारी अन्तिम चरणमा पु¥याएको हो ।

साढे ५ वर्षकी ‘रुद्रकली’ र साढे ४ वर्षको ‘खगेन्द्रप्रसाद’ सो देशको अलखोर चिडियाखानाको प्रदर्शनीमा रहने छन् । दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रको ज्वाइँ कहलिएको जंगली हात्ती ‘रोनाल्डो’का सन्तती हुन् । रुद्रकली १ हजार २ सय किलो र खगेन्द्रप्रसाद १ हजार १ सय ९० किलोका रहेका निकुञ्जले जनाएको छ ।

नेपालका हात्ती र शाही बाजबारे चासो राख्दै कतारले २ वर्षअघि नेपाल सरकारलाई पत्राचार गरेको थियो । कतारको यस्तो प्रस्तावपछि परराष्ट्र मन्त्रालयले वन तथा वातावरण मन्त्रालयमार्फत वन्यजन्तु कूटनीति प्रक्रिया अघि बढाएको हो । कतारका वन्यजन्तुविद् दुवै हात्तीको अवस्थासहित हात्ती लाँदा अपाउनुपर्ने प्राविधिक पक्ष अन्य तयारी बुझेर फर्किएका छन् ।

गत ४ माघमा कतारको टोली चितवन आएर फर्किएको थियो । त्यस लगत्तै कतार एयरलाइन्सका अधिकारीहरू पनि हात्ती लाँदा विमानभित्र अपनाउनुपर्ने प्राविधिक पक्ष बुझ्न आएको चितवन निकुञ्जका प्रमुख डीलबहादुर पुर्जा पुनले जानकारी दिए । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिष्ट मनोजकुमार साह, चितवनका वन्यजन्तु चिकित्सक विजयकुमार श्रेष्ठ र हात्ती कर्मचारीको टोली अलखोर चिडियाखानाको वस्तुस्थिति बुझेर फर्किएको उनले बताए ।

हात्ती प्रजनन् केन्द्र घुम्न आउने आगन्तुकसँग घुलमिल गर्न रूचाउने स्वभावका भएकाले दुवै हात्ती कतारको चिडियाखाना पठाउन योग्य रहेका बताउँदै पुनले हाकाहाकीसँग भने, ‘हात्ती पठाउने/लाने तयारीबारे दुवै देशबाट अध्ययन/अवलोकन भएको छ, लाने मितिको टुङ्गो लाग्न बाँकी छ ।’

आगामी वैशाख दोस्रो साता कतारका राजा थानीको नेपाल भ्रमणको तयारी हुँदै गर्दा सोही अवसरमा नेपालले हात्ती हस्तान्तरण गर्ने गृहकार्य अघि बढाएको हो । थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र स्रोतकाअनुसार ५ वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा त्यहाँका राष्ट्रध्यक्षले नेपालका हात्ती र बाजबारे चासो लिएका थिए । तर कोरोना सङ्क्रमणपछि यो विषय ओझेल परेको थियो । हात्ती र बाज एकैसाथ उपलब्ध गराउन सकिने/नसकिनेबारे विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, प्राकृतिक इतिहास संग्राहलय, नेपाल पक्षी संरक्षण संघ (बीसीएन)का अधिकारीहरूबीच गत वर्ष छलफल भएको थियो ।

सो छलफल पश्चात वन मन्त्रालयले यसबारेको गृहकार्य अघि बढाउन सहसचिव धनञ्जय पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । हात्तीको प्रयोजन प्रष्ट भए पनि बाजको संख्या र उद्धेश्य प्रष्ट नभएपछि नेपाली अधिकारीहरूले कतारको धारणा मागेका थिए । ‘हामीले धारणा माग्दा कतारले बाज आवश्यक नपर्ने बताएपछि हात्ती मात्रै पठाउने तयारी अघि बढाइएको हो’, विभागका एक अधिकारीले भने ।

नेपालमा १ सय ७६ पाल्तु हात्ती रहेकामा १ सय हाराहारी सरकारी र निजी क्षेत्रका होटल/रिसोर्टको स्वामित्वमा छन् । त्यसैगरी २ सय देखि २ सय २७ हाराहारी जंगली हात्ती छन् । बर्दियामा १ सय २०, चितवन–पर्सामा ५० देखि ६०, शुक्लाफाँटामा २५ देखि ३० नेपाल–भारत (झापा, मोरङ, कोसीटप्पु र आसपासका भेगमा) ओहोरदोहोर गरिरहने १९ जंगली हात्ती छन् ।

कतारले हात्ती लाने तयारी अन्तिम चरणमा पुग्दै गर्दा केही हात्ती कर्मचारी (माहुते) र हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक पनि माग गरेको चितवन निकुञ्ज प्रमुख पुनले जानकारी दिए । ‘हात्तीको स्याहार सुसारमा कमी नहोस भन्ने उद्धेश्यसहित यस्तो आग्रह आएको हो’, उनले भने, एउटा हात्तीका लागि कम्तिमा ३ जना कर्मचारी चाहिन्छ । चिकित्सक पनि पठाइदिए हुन्थ्यो भन्ने कतारको चाहना छ ।’

वन्यजन्तु विभाग स्रोतकाअनुसार हात्तीको स्याहार सुसारमा खट्ने कर्मचारीलाई कतारले आफ्नो देशकै कर्मचारी सोसरहको सरकारी सेवा सुविधा प्रदान गर्ने प्रस्ताव गरेको छ । गल्फ, बास्केटबल, स्केटिङ लगायत विभिन्न खेलका छुट्टाछुट्टै खेल मैदान, उद्यानसहितको कतारको अलखोर चिडियाखानामा हाल विभिन्न ४९ प्रजातिका ३ सय १५ जिवजन्तु प्रदर्शनीमा छन् ।

नेपालले विसं २०४० को दशकमा भारतलाई ४ वटा गैंडा उपहार दिएपछि त्यसवापत भारतले नेपाललाई १६ वटा हात्ती दिएको थियो । भारतले दिएका ११ पोथी र ५ भाले हात्ती राखेर चितवनमा हात्ती प्रजनन् केन्द्र सुरुआत भएको हो ।

विभिन्न देशसँगको कूटनीतिक सम्बन्ध निकट बनाउन नेपालले विभिन्न देशलाई उपहारस्वरूप जीवजन्तु उपलब्ध गराएको छ । नेपालले भारत, चीन, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशमा २८ वटा गैंडा पठाएको छ । सरकारले पछिल्लो पटक २०७५ मा चीनलाई डेढदेखि २ वर्ष हाराहारीका २ जोडी गैंडा उपलब्ध गराएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान