Thursday, October 24, 2024

समाचार प्रभाव : अवैध उत्खनन् गर्ने ठेकेदारसँगको सम्झौता रद्द

दाङ– दाङका खोलाहरुमा बढ्दै गएको अवैध उत्खनन्प्रति जिल्ला समन्वय समितिले चासो देखाएको छ । जिल्ला समन्वय समिति दाङको बैठकले ठेकेदारसँग सम्झौता रद्द गर्नेसम्मको निर्णय गरेको छ ।

दाङमा खोलामा अवैध उत्खनन् बढेको खबर हाकाहाकीमा आइतवार प्रकाशित भएको थियो । जिल्ला समन्वय समितिले ठेक्का लगाएका स्थानदेखि अन्यत्र ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुँ्गा, गिट्टी र बालुवा) उत्खनन गरि जिल्ला समन्वय समितिको रसिदबाट बैधानिकता दिइ राजश्व असुल गरिएकोमा उक्त अवैधानिक कार्यलाई पूर्ण रुपमा बन्द गर्न सम्बन्धित निर्माण व्यवसायी ठेकदारलाई सचेत गराएको छ ।

बैठकले पटकपटक निर्देशन दिदा समेत पूर्ण रुपमा बन्द नभएकोले कानून बमोजिम कारवाही र ठेक्का समेत रद्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिए ।

बैठकले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गर्ने र नियम विपरित सञ्चालन भएको क्रसर उद्योगलाई बन्द गर्ने निर्णय पनि गरेको छ र त्यसका लागि सम्पूर्ण जनप्रतिनिधि र सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा न ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानविन गर्नको लागि समिति गठन गरेको छ । जिल्ला समन्वय समिति दाङको सोमवार बसेको बैठकले छानविनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र इञ्जिनियर बासुदेव भण्डारी छन् । समितिले एक साताभित्र आफनो प्रतिवेदन बुझाउने त्यसको आधारमा थप कारवाही प्रक्रिया थाल्ने जिल्ला समन्वय समितिका प्रमुख नेपालीले वताए ।

ताजा समाचार

सम्बन्धित समाचार