अहिले संसारका ९० प्रतिशत भन्दा बढी मानिसहरु प्रदूषित हावामा सास फेर्न बाध्य छन् । वायु प्रदुषण संसारकै प्रमुख वातावरणीय स्वास्थ्यको समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले पनि यही भनेको छ – वायु प्रदुषण अहिले नं. १ वातावरणीय समस्या बनेको छ । डब्लुएचओकै अनुमान अनुसार बर्सेनि करिब ७० लाख मानिसको मृत्यु वायु प्रदुषणकै कारणले हुने गर्दछ । विश्व बैंकका अनुमान अनुसार वायु प्रदुषणकै कारण संसारको अर्थतन्त्रलाई ८.१० ट्रिलियन डलर नोक्सान हुन्छ, त्यो भनेको करिब १० लाख अर्ब रुपैयाँ हो । यसबाट विश्वकै कुल गार्हस्थ्य उत्पादनको ६.१ प्रतिशत नोक्सान हुने गर्दछ । त्यसैले संसारभर नै वायु प्रदुषण एक प्रमुख चुनौतीको विषय बनेको छ, र यो बढ्दो छ ।
त्यसैले यही समस्याको बारेमा जनचेतना अभिवृद्धि गर्न र सरकार लगायत अन्य सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्र संघले सेप्टेम्बर ७ लाई विश्व स्वच्छ हावा दिवस भनेर मनाउन थालेको छ । यस वर्ष संयुक्त राष्ट्र संघले स्वच्छ हावालाई मानव अधिकारको रुपमा पनि परिभाषित गरेको छ ।
नेपालमा पनि वायु प्रदुषण एउटा ठूलै समस्याको रुपमा हाम्रो सामु आइसकेको छ । यो एउटा वातावरणीय समस्या मात्र होइन, यो जनस्वास्थ्यको समस्या हो, यो अर्थतन्त्रको समस्या हो । गएको वर्ष अमेरिकाको प्रतिष्ठित येले विश्वविद्यालयले गरेको अध्ययन अनुसार संसारकै वायु प्रदुषण बढी भएका देशहरुको सूचीमा नेपाल तेस्रो नम्बरमा रहेको छ । नेपालभन्दा माथि भारत र बंगलादेश छन् । यसैगरी क्यू एयर नामको संस्थाले गरेको अध्ययन अनुसार विश्वको सबै वायु प्रदुषण सम्बन्धी डेटाको विश्लेषण गर्दा छ हजारभन्दा बढी शहरमा वायु प्रदुषण कति छ भनेर अध्ययन गर्दा काठमाडौं ९० औं नम्बरमा परेको थियो । विश्वका राजधानी शहरहरु मध्ये काठमाडौं छैटौं नम्बरमा परेको थियो ।
काठमाडौंको हावामा वायु प्रदुषण अर्थात् शहरमा शरीरमा भित्र पस्न सक्ने मसिना कणहरुको मात्रा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्डभन्दा १० गुणाभन्दा बढी छ । अझ काठमाडौं भन्दा प्रदुषित शहर नेपालमा सिद्धार्थनगर छ जुन संसारकै प्रदुषित शहरहरुको सूचीमा ५१ औं नम्बरमा परेको छ । त्यसैले हाम्रो देशका विभिन्न ठाउँमा वायु प्रदुषणको समस्या काठमाडौंमा छ, र अन्य शहरहरुमा छन् र गाउँहरुमा पनि छन् ।
वायु प्रदुषण किन हुन्छ ?
वायु प्रदुषणका प्रमुख स्रोतहरु के हुन् भनेर हेर्ने हो भने नेपालको सन्दर्भमा सबैभन्दा प्रमुख स्रोत भनेको भान्साको धुँवा नै हो । अहिले पनि नेपालका करिब दुई तिहाई घरहरुमा परम्परागत चुल्होको प्रयोग गरिन्छ जहाँ गुइँठा जस्ता धेरै प्रदुषण गर्ने इन्धनहरु प्रयोग हुने गर्दछ । यस्ता घरहरुको भन्सामा अत्यधिक मात्रामा वायु प्रदुषण हुने गर्दछ । हामीले एकचोटी इलाम, दाङ, दोलखा जस्ता कतिपय स्थानका घरहरुमा गएर वायु प्रदुषण मापन गरेका थियौं । त्यहाँ प्रदुषण मापन गर्दा प्रदुषणको मात्रा डब्लुएचओले तोकेको मापदण्ड भन्दा पनि १० होइन सयौं गुणा बढी थियो, र यस्ता भान्साहरुमा अधिकांश समय घरहरुमा महिलाहरु बस्ने गर्दछन् । चार पाँच घण्टा त्यस्ता भान्सामा बस्नुपर्ने बाध्यता महिलाहरुमा छ । उनीहरुसँगै बालबालिका पनि प्रदुषणको चपेटामा परेका हुन्छन् ।
सास फेर्दा हावामा रहेका मसिना कणहरु र प्रदुषित ग्यासहरु (नाइट्रोजन अक्साइड) वृद्धि हुनेक्रम जारी छ । यी मसिना कण र ग्यासहरु शरीर भित्र जान्छन् र श्वासप्रश्वास प्रणाली मार्फत फोक्सोसम्म पुग्छ, र फोक्सोबाट पनि अगाडि बढेर यो रक्तसंचार प्रणालीमा जान्छ, ती शरीरका विभिन्न अंगमा पुग्छन् । वायु प्रदुषणको असर भनेको श्वास प्रश्वास प्रणालीमा मात्र सीमित हुँदैन, शरीरका सबै अंगमा असर गर्न सक्दछ ।
नेपालमा सबैभन्दा बढी बिरामी हुनेहरुको संख्या हेर्ने हो भने ती अधिकांश फोक्सोसँग सम्बन्धित हुन्छन् जसलाई अंग्रेजीमा सिओपिडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) भनेर चिनिन्छ । सिओपिडी हुँदा मृत्युको एउटा प्रमुख कारण वायु प्रदुषण नै हो । यस्तै, मृत्युको दोस्रो मुख्य कारण मुटुरोग हो, र तेस्रो मुख्य कारण मस्तिष्कघात हो । यी सबै रोगहरु वायु प्रदुषण एउटा मुख्य कारक हो भनेर विभिन्न अनुसन्धाताहरुले बताएका छन् । अमेरिकाको हेल्थ सेक्टरका दुई वटा अनुसन्धानले नेपालमा सन् २०१९ मा भएका मृत्युहरुमध्ये ४२ हजार १०० को मृत्यु वायु प्रदुषणकै कारण भएको देखाएको छ ।
वायु प्रदुषणका कारण यति धेरै मृत्यु हुनु भनेको एक दिनमै ११५ जनाभन्दा बढीको मृत्यु हुनु हो । त्यही अध्ययनमा काठमाडौं शहरमा मात्र एक वर्षमा पाँच हजारभन्दा बढीको ज्यान गएको देखाएको छ ।
त्यसैले वायु प्रदुषण भनेको वातावरणीय समस्या मात्र होइन । यो हाम्रो लागि एउटा प्रमुख जनस्वास्थ्यको समस्या हो । नेपालीहरुको स्वास्थ्यमा सुधार ल्याउने हो भने वायु प्रदुषणमा सुधार ल्याउन अपरिहार्य छ ।
वायु प्रदुषण कसरी कम गर्न सकिन्छ ?
वायु प्रदुषण नियन्त्रणका लागि जे जति काम भएका छन् ती पर्याप्त छैनन् । जस्तै, काठमाडौंको वायु प्रदुषण नियन्त्रण गर्नका लागि सरकारले काठमाडौं वायु प्रदुषण नियन्त्रण कार्ययोजना २०७६ बनाएर मन्त्रिपरिषदले पारित गरिसकेको छ । यो राम्रो कुरा हो, तर यसको कार्यान्वयनमा भने केही ढिलाई भइरहेको छ । कार्ययोजनमा समेटिएका विभिन्न १२६ वटा कृयाकलापहरु छन् तर तिनीहरु खासै कार्यान्वयन पनि भएका छैनन् र ती कार्यान्वयन भएका छन् वा छैनन् भनेर अनुगमनका कार्यहरु पनि खासै भएका छैनन् । अनुगमनमा सहजीकरण गर्न दुई वटा समितिको परिकल्पना गरिएको छ । तर ती दुबै समिति निष्कृय अवस्थामा छन् । अहिले पानी परिरहेको छ, त्यसैले आकाशमा मसिना वायुका कण कम होलान् तर दुई महिनापछि पानी पर्न कम हुनासाथ वायु प्रदुषण ह्वात्तै बढ्ने छ । वायु प्रदुषणका नयाँ स्रोतहरु जस्तै इटाभट्टा पनि संचालनमा आउन थाल्छन् । अथवा धेरै मानिसले फोहोर जलाउन थाल्छन् । यस्तो अवस्थामा अहिल्यैदेखि के गर्ने भनेर सजग भएर काम गर्नु जरुरी छ ।
तुलाधर वातावरणविज्ञ हुनुहुन्छ ।
रेडियो सगरमाथामा बुधबार बिहान वायु प्रदुषणसँग सम्बन्धित विचार राख्दै ।