काठमाडौ, असार २९ (हाकाहाकी)— सोमबार बिहान विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।
यस्तै लमजुङ–मनाङ सडकखण्डमा पहिरो हटाउन नसक्दा गाडी सञ्चालन हुन सकेको छैन । लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा हिजो खसेको पहिरो पन्छाएर नभ्याइएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । यस्तै म्याग्दी–जोमसोम सडकखण्डमा पनि हिजोदेखि गाडी चलेका छैनन् ।
यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेपछि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । पहिरोका कारण साँफे–मार्तडी सडकखण्ड पनि अवरुद्ध छ । बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले सडकखण्ड अवरुद्ध भएको हो ।
काठमाण्डौ भिमफेदी हुँदै मकवानपुर जाने सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो र लेदो माटो बगेर सडक अवरुद्ध भएको हो ।





