काठमाडौ, असार २८ (हाकाहाकी)— केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक खुलाउन केही दिन लाग्न सक्ने सडक बिभागले जनाएको छ ।
बाढीपहिरोका कारण सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक कटान गर्दा, कजवे र पुलमा क्षति पु¥याएको छ । अवरुद्ध भएका कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् । कतिपय सञ्चालनमा आउन अब हुने वर्षामा भर पर्ने सडक विभागले जनाएको छ ।
लगातारको वर्षाका कारण अरनिको राजमार्गको बाह्रबिसेदेखि कोदारीसम्म सडक अवरुद्ध भएको र खुल्न केही दिन लाग्न सक्ने सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामोसाँघु बाह्रबिसे, खग्दोल, जम्बु, झ्याले, चाकु, डाक्लाङ गरी ११ ठाउँमा सडक अवरुद्ध भएको हो ।





