काठमाडौ, असार २८ (हाकाहाकी)— जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान हुने संभावना बढेकाले सतर्क रहन आग्रह गरेको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ ।
प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ ।
निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब पहिरो जानलाई ठूलो पानी पर्ननपर्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभएको छ ।
आइतबार बिहान देशका अधिकांश स्थानमा वर्षा भएको छ । आइतबार दिउँसा र साँझपनि अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमति प्रदेशका धेरै स्थान र बाकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ् सहित वर्षा भईरहेको छ। प्रदेश १ र २ का थोरै स्थानहरूमा भारी वर्षा भईरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लगातार पानी परेपछि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।
कर्णाली र कन्काइमा पानीको सतह खतराको तहमा पुगेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।





