Wednesday, October 23, 2024

‘रंग’ हराएको ‘रंगुन’

‘हैट, पश्चिमको पानी त कडा नै रै’छ…।’

यात्राका क्रममा हाम्रा ठट्यौली शब्दहरुलाई चन्द्र माझी बीचबीचमा यस्तै भनेर हामीलाई ‘ड्यास’ दिइरहेका थिए ।

यात्राभर, टेलिभिजन कार्यक्रमका लागि, पत्रकार साबित्री गिरी ‘कथा’का पात्र कल्पिदैँ थिइन् । उनका ‘कथा’हरुमा प्राण भरिदिन अघिल्लो दिनमात्रै काठमाडौँबाट नेपालगन्ज कार्यालयमा ‘ज्वाइन’ गरेका हाम्रा क्यामेराम्यान चन्द्र माझीसँगको पहिलो यात्रा थियो त्यो । माझी ती ‘माझी’ हुन्, जसले करीब डेढ दशकदेखि नेफेजको ‘एउटा’ डुङ्गा हाँकीरहेका छन् । अनि नेपाल वातावरण पत्रकार समूहको एउटा पहिचान बनेको ‘आँखी झ्याल’का पनि ती ‘आँखीझ्याल’ हुन्, जसले वर्षाैदेखि क्यामेराको एउटा ‘आँखीझ्याल’बाट चियाएर मान्छे अनि वातावरणका कथाहरु संसारभर फैलाइरहेका छन् ।

उस्तै क्षमता, प्रतिभा अनि सिर्जनशीलताले नेपाल वातावरण पत्रकार समूहलाई पच्चीसौं वर्षदेखि ‘सिंचाईं’ गर्दै आएका अरु दुई ‘क्यामेरा किंग’हरु बिकुराम तजले अनि मोहन दाइहरुसँगको अनभूतिहरु पनि सिकाइपूर्ण रहे, नेपालगन्ज बसाइका करीब चार महिनाहरु ।

‘रंगुन’ मिसनको तयारीसँगै मनमा नयाँ जिज्ञाशु तरंगहरु चलमलाउँदै थिए । नेपाल वातावरण पत्रकार समूहले उत्पादन गर्ने ‘पानी’ श्रृङ्खलाका लागि हामी एक सातादेखि नै त्यसको तयारीमा जुटिरहेका थियौँ ।

‘पानी’ टेलिभिजन कार्यक्रम, ‘पानी’ रेडियो कार्यक्रम अनि ‘पानी’ छलफलका लागि एक साताको तयारीपछि हामी बैशाख २२ गतेको शनिबार बिहानै हामीले नेपालगन्जबाट डडेल्धुरातर्फको यात्रा सुरु ग¥यौँ । डडेल्धुराको एउटा कोखाबाट बग्दै गएर त्यो ‘रंगुन’, महाकालीको अधरमा मिसिन्छ । त्यसैको तटीय किनारमा ‘पानीभित्रका कथा’ खोज्न, ‘टिम नेफेज’को यात्रा थियो त्यो ।

लामो समयदेखि नेपालगन्जका एफएमहरुमा समाचार पढेर, लेखेर अनि रेडियोमार्फत बोलेर सञ्चारकर्म गर्दै आएकी साबित्री अहिले नेफेजमा पानी कार्यक्रमका लागि ‘टेलिभिजन संवाददाता’ बनेकी छन् । हिँज बोलेर जनतालाई सूचित गर्थिन्, आज उनी त्यस्तै मानव, प्रकृती अनि वातावरणका विषयसँग गाँसिएका अन्र्तकथाहरुलाई बुन्छिन्, दृश्यमा उतार्छिन्, ती कथा देखाउँछिन् पनि सुनाउँछिन् पनि ।

अनि यो यात्रामा थिइन्, सुमीत्रा चौधरी । ती पनि पूर्व रेडियोकर्मी हुन्, हिँज ‘सबै’ समाचार पढ्ने र लेख्ने उनी पनि अहिले भने ‘वातावरण बिट’मा जोडिएर मान्छेका कथा मस्तिस्कमा स्केच गर्छिन्, शब्दमा उतार्छिन् अनि संसारभर सुनाउँछिन् । ती रेडियो कार्यक्रम ‘पानी’का लागि संवाददाता हुन् । स्कूल भर्ना हुने उमेर जमिन्दारको घरमा ‘कम्लहरी’ भएर बिताएकी यी सुमित्रा ढिला स्कूल भर्ना भइन् तर, पनि पढिन् । थारुकी छोरी । सानैमा आमा गुमाइन् । बाबुको प्यार अनि उनकै रेखदेखमा हुर्किइन् । र, दशक यता उनी पत्रकारिता कर्ममै छिन् ।

लामो समय मोफसलमै बसेर धेरै भिडियो ‘डकुमेन्ट्री’का लागि क्यामेरा चलाएका दीपेन्द्र शाही पनि सँगै थिए । उनी पनि अहिले नेफजसँगै गाँसिएका छन् । कहिले गम्भीर, प्रेम, बिछोड अनि कहिले रंगीला गीतहरुका धुन फेर्दै हाम्रा चालक सुशील श्रेष्ठ गाडी हाँकिरहेका थिए । संस्था र कामप्रति एउटा बफादार युवा हुन् श्रेष्ठ । उनले गाडी चलाउँदा अनि गाडीलाई स्याहार गरेको देख्दा लाग्छ उनले आफूभन्दा धेरै गाडीलाई नै माया गर्छन् । कहिलेकाँही त सुशीलको त्यो ‘गाडी प्रेम’ म आफ्नो छोराको प्यारसँग तुलना गर्छु ।

उनै दिपेन्द्र शाहीको अड्डा, कोहलपुरको हाइस्कूल चोकमा हामीले बिहानको खाजा खायौँ । अनि त्यहाँबाट हामी अगाडि बढ्यौँ । बाटोभरि हाँसो ठट्टा चलिरह्यो । एकले अर्काेलाई ‘उडाउने’ र ‘थमाउने’ प्रक्रियाहरु चलिरहे । कसैले केही बोलेका कुरा भुँइमा खस्न पाउँदैनथ्यो, हामी त्यसलाई तुरन्तै ‘जोक’ बनाइहाल्थ्यौँ र गाडीभरि हाँसो गुन्जिन्थ्यो ।

तर, यात्राभर हामी हाँसो, ठट्टा र रमाइलोमात्रै होइन, फिल्डमा गर्नुपर्ने कामको बारेमा छलफल गर्छाैँ । योजनाका बारेमा बहस गर्छाैँ । आफूले खोज्ने कथाहरुको ‘एंगल’हरुका बारेमा एकअर्काका ‘फिडब्याक’ लिन्छौँ ।

र, बीचबीचमा हुने हाँसो ठट्टाले यात्रा ‘बोरिङ’ हुँदैन । सुख्खडको वाशिष्ठ होटेलको खानाले केही साथीहरुको आँखामा निद्रा झुलियो । साझेदार संस्था सिंचाइ उपभोक्ता महासंघका एकजना सामाजिक परिचालक विष्णु भट्टसँग हामी अत्तरियामा भेट भयौँ । हामीले फिल्डमा गर्ने कामको बारेमा हामी डडेल्धुरा नपुग्दै पहिलो चरणको तयारी छलफल त्यहीँ ग¥यौँ । ‘रंगुन’का केही ‘रंग’, ‘तरंग’ अनि त्यसका बारेमा उनीसँग धेरै बुझ्ने मौका पायौँ ।

बाटोभरि पनि चन्द्र जी, क्यामेरामा दृश्यहरु कैद गर्दै थिए । हामीभन्दा पनि अघिअघि सूर्यको गती थियो । दिन विस्तारै ढल्किदैँ थियो । सन्ध्याले बैंश काढ्दै थियो । कलिलो सन्ध्याको सुनौला किरणहरुसँगै हामी, परशुराम नगरपालिकाको जोगबुढा बजारमा पुग्यौँ ।

त्यहाँ पूर्णिमा होटेलमा हाम्रा लागि पहिलै गाँसबासको व्यवस्था गरिसकेका थिए, पत्रकार महासंघका प्रदेश सस्दय बरुण पनेरुले । एक समय नागरिक दैनिकका लागि हामी जिल्ला संवाददाता भएर काम गरेका थियौँ । अहिले उनी टेलिभीजन कर्ममा लागेका छन्, कान्तिपुरमार्फत् ।

होटेलमा पुग्नासाथ हामीले सकुशल गन्तव्यमा पुगेको कुरा चन्द्रकान्त पण्डित सरलाई जानकारी दियौँ । नेपाल वातावरण पत्रकार समूहमा दुई दशकदेखि अनवरत गाँसिएका पण्डितजी, ‘आँखीझ्याल’का एक चम्किला ‘चन्द्र’ हुन् । अनि त्यसका एक ‘सिर्जना’ पनि । वाइसौँ वर्षको यात्रामा यी आँखीझ्यालका ‘आँखीझ्याल’ रहेर काम गरे । अहिले नेपालगन्ज कार्यालयमा बसेर हाम्रो समूहको अर्काे ‘आँखीझ्याल’ बनेका छन् जसबाट हामीले वातावरण र मान्छेबीचको कथा चियाइरहेका छौँ । साथीहरु आ–आफ्नो तयारीमा लागे । अर्काेदिन झिसमिसे देखि नै हामी आआफ्नो काममा लाग्नुपर्ने थियो ।

टेलिभिजन कार्यक्रम ‘पानी’मा हामी त्यो भित्रको ‘हिरो’ खोज्छौँ । साबित्री जी, पानीभित्रका ‘हिरो’हरुको ‘कुन्डली’ निकाल्न थालिन् । अर्काे दिनको सुरुवातसँगै ती ‘हिरो’(च्याम्पियन)को जीवन पछ्याउने गर्छाैँ हामी । त्यसलाई पछ्याउनका लागि चन्द्र माझी आफ्नो क्यामेरा तयारी गर्दै थिए । सुमित्रा जी पनि त्यसैको तयारीमा लागिन्, रेडियो कार्यक्रम ‘पानी’ मार्फत् पनि त्यस्तै समाजमा लुकेर रहेका ‘हिरो’हरुका कथा बोल्छौँ, जो ‘वातावरण’, प्रकृती अनि मानव जीवनसँग नजाँनिदो तरिकाले गहिरोसँग गाँसिएको हुन्छ । ‘पानी’को उपयोगिता र यसको संरक्षणमा जीवनका धेरै समय त्यसैमा गुजारिदिन्छ ।

अनि म, ‘पानी छलफल’को तयारीमा थिएँ । त्यसैबेला हामी बाहिर निस्कियौँ, एउटा ‘अल्लारे’ ग्याङसँग भेट भयो । संयोगले ती पनि त्यस्तै कामका लागि आएका रहेछन् । यूएसएआइडीको सहयोगमा चलिरहेको ‘पहल’ कार्यक्रमका ‘ग्याङ’ थिए ती । हामीले सँगै चिया पिउन प्रस्ताव ग¥यौँ ।

टेलिभिजन, रेडियो अनि छलफल कार्यक्रमका सबै टीम अनि त्यो ‘ग्याङ’को सामूहिक चिया छलफल सुरु भयो । कुरा सुन्दै जाँदा लाग्यो, ‘अल्लारे’ त्यो ग्याङसँग अथाह ज्ञान थियो, वातावरण अनि मानव जीवनको बारेमा । उनीहरुसँग हामीलाई चाहिने थुप्रै कुराहरु हामीले ‘नोट’ गरिरहेका थियौँ। ती ‘अल्लारे’ ‘ग्याँङ’का अनुभवी र ‘सिरियस’ अनुभवबाट हामीलाई निकै सहयोग भयो । ‘हेर्दा’ ती जति अल्लारे लाग्थे, काम र जिम्मेवारीमा त्यत्तिकै ‘पाको’ पायौँ हामीले ।

‘पानी’ कार्यक्रमका लागि हामीलाई ‘परियोजना’मा नेफेजलाई ‘कोष’ उपलब्ध गराएको यूएसएआइडी, पानी परियोजनाका जलाधार क्षेत्र विशेषज्ञ रोशनप्रसाद भट्टसँग त्यहीँ भेट भयो र, हामीले कार्यक्रमका बारेमा प्रारम्भीक छलफल ग¥यौँ ।

अर्काे दिन टेलिभीजन कार्यक्रमको छायांकन जोगबुढा बजार नजिकैको राउटे बस्तीमा थियो । २०२९ सालतिर राजा वीरेन्द्रको ठाडो आदेशबाट जंगलबाट ल्याएर त्यहाँ बसाइएका राउटेहरु अहिले ‘राउटे’जस्ता लाग्दैनन्, उनीहरु यही समाजको मूलधार मिसिइसकेका छन् ।

अनि ‘पानी’ छलफल र रेडियो कार्यक्रमका लागि हामी ‘कथा’ अनि ‘पात्र’ खोज्न महाकाली किनाराको ‘परीगाउँ’ पुग्यौँ । एकातिर रंगुन नदी अनि पश्चिमी काखमा महाकाली बगाउँदै, पहाडको फेंदमा फैलिएको परीगाउँ साँच्चिकै ‘परी’जस्तै लाग्यो । हामी रंगुन खोलाको पूरै किनारामा यात्रा गरिरहेका थियौँ, स्थानीयका कथाकहानी, दृश्यहरु कैद गर्दै ।

‘१५ वर्षअघिमात्रै यो रंगुन खोलामा महाकालीको आधा पानी थियो’ परीगाउँका स्थानीय अगुवा देवनाथ योगी हामीलाई ‘रंगुन’का कहानी सुनाउँदै थिए ‘अहिले त रंगुन सुख्खा छ, न पानी न अरु केही, ढुंगा र बालुवाको मात्रै खोला भएको छ यो ।’

हुन पनि ती दिनहरु पो, थिए रंगुनका । जोगबुढाको माथि ‘ग्याङखेत’बाट निस्किएको एउटा सानो मूल, महाकालीको अधर पुग्दासम्म निकै ठूलो भइसक्थ्यो । कारण, रंगुनसँग मिसिने धेरै खहरेहरुको साथ थियो ।

आज रंगुन रंगबिहीन भएको छ । रंग हराएको छ रंगुनको । त्यो बेला पानी उत्ति नै हुन्थ्यो, मात्रै रंग फेथ्र्याे, वर्षामा पानी धमिलो हुन्थ्यो हिँउदमा नीलो । अब त्यो सब रंग हराएको छ । वर्षाका दुई महिना खुब ‘वैंश’ चढ्छ रंगुनको । त्यो बेला खहरेहरुको दरिलो साथ हुन्छ । अनि विस्तारै त्यो सुक्दै जान्छ, बाँकी ढुङ्गा अनि बालुवामात्रै थुप्रिन्छ त्यसको छातीमा । र, सकी नसकी परीगाउँको पुछारमा रहेको पुनासम्म बगेर महाकालीको अधरमा समाहित हुन्छ । रंगुनको यात्रा त्यहीँ टुङ्गिन्छ ।

रंगुनको गर्भमा धेरै जलचरहरुको प्राण थियो, आज ती पनि बिलिन छन् । कतै कतै माछाहरु खेलिरहेका थिए, रंगुनको ‘सास’ हराएको सानो अनि संङ्लो पानीमा । अनि केही ठाउँमा मानिसहरु विषालु झार पिसेर ती माछाका शिकार गर्दै थिए, पानीमा बिष मिसाएर । कतै युवाहरुको समूह जाल बिछ्याइरहेका थिए । कतै महिलाहरुको समूह माछा खोतलिरहेका थिए ।

वर्षाको बैंशमा उर्लिने रंगुनले हरेक वर्ष कुनै न कुनै वितन्डा मच्चाएकै हुन्छ । स्थानीयका खेतबारी मात्रै होइन, घरसम्मै पुगेर खुब ‘चकचक’ गर्छ त्यो बेला । अनि फेरि दुई महिनाभित्रै शान्त हुन्छ ।

सबैभन्दा बढी वर्षाको समयमा रंगुनले सिमलखेतका वासिन्दालाई खुब सताउँछ । ‘केही छैन हजुर अहिले त, पहिला त्यही खेतबारी जोतेर वर्षभरि खान पुग्थ्यो, अहिले सब बगर भयो’ वातावरण पत्रकार समूहले गरेको ‘पानी छलफल’मा त्यहाँका स्थानीय कबीर बोहरा आफ्नो पीडा बाँड्दै थिए ‘खेतबारी रंगुनले खायो, हामीलाई खानको लागि इन्डिया गएर मजदूरी गर्नुपर्छ ।’

रंगुनको बिठ्याइँ यत्तिमात्रै छैन, रंगुन हरेक वर्ष मान्छे पनि ‘खान्छ’ स्थानीयकै भाषामा । अर्थात्, हरेक वर्ष यो खोलामा मान्छे बग्छन्, गएको वर्षमात्रै जोगबुढा नजिकैबाट रंगुनले पाँचजना मान्छे निल्यो । त्यसमा एकजना त भर्खरै निर्वाचित भएका जनप्रतिनिधि पनि थिए । अहिले भर्खरैमात्र त्यहाँ एउटा पुल बन्दै छ र, मान्छेका आशाहरु पनि फेरि पलाउन थालेका छन् ।

बिठ्याइँ, चकचकेपना, अनि वर्षामा बितन्डा मच्चाउनुमात्रै रंगुनका चरित्र भने होइनन् । यो खोलाको सही उपयोगले स्थानीयको जनजीविकालाई पनि माथि उठाउन सकिने अनेकौं सम्भावनाहरु छन् । हामीले रंगुनका समस्या अनि यसमा भएका सम्भावनाहरुका बारेमा ‘पानी छलफल’ गरेका थियौँ । कार्यक्रममा आएका रंगुन तटका स्थानीय पनि खोलाबाट जीविकोपार्जनका लागि लाभ लिन सकिँदो रहेछ भन्ने निश्कर्षमा पुगे । जीविको पार्जनका लागि एउटा विकल्प खोलाको माछा हो ।

त्यसको संरक्षणका लागि स्थानीयहरु समूह बनाउन तयार भए । माछा मार्ने बिधि सिक्ने इच्छा देखाए अनि जनप्रतिनिधिहरुसँग पनि त्यसका लागि सहयोगको माग गरे । जनप्रतिनिधि (नगरपालिकाका उपमेयर अनि केही वडाअध्यक्षहरु) पनि त्यसका लागि प्रतिवद्ध भए । खोला अनि त्यसमा आश्रित जलचर संरक्षण र त्यसलाई स्थानीयवासीको जीविकोपार्जनमा सदुपयोग गर्नका लागि कैयौँ बुँदामा प्रतिवद्धता गरे ।

प्राकृतिक ती जलाधारहरुबाट स्थानीयका आशा अनि अपेक्षाहरुलाई पूरा गर्ने, जनप्रतिनिधिका प्रतिवद्धताहरुमा ‘सहीछाप’ गराएर अर्काेपटक जलाधार तटीय क्षेत्रका वासिन्दाको फेरिएको जीवन हेर्न आउने बाचा गर्दै हामी पनि बिदा भयौँ ।

 

ताजा समाचार

सम्बन्धित समाचार