काठमाडौ, असार २५ (हाकाहाकी)– बिहीबारदेखि मनसुन थप सक्रिय हुने जल तथा मौसम पुर्वामान महाशाखाले जनाएको छ ।
देशभर मनसुनी बायु सक्रिय भएकाले पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ ।
विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको जनाइएको छ ।
यसैबीच अबको चार दिन अहिलेसम्मकै धेरै पानी पर्ने भन्ने कुरा गलत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष मनसुन सुरु भएदेखि नै राम्ररी पानी परिरहेको र आजदेखि मनसुन थप सक्रिय मात्रै हुने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
खोटाङ बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको,खतरातह आसपास समेत पुग्न सक्ने जनाइएको छ ।
खोटाङ,ओखलढुङगा र आसपास लगायत दुधकोशी सुनकोशी दोभान सम्मको क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरीएको छ ।
ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।





