Wednesday, October 30, 2024

मास्क लगाएर नहिड्दा प्रहरीको फन्दामा पर्नुहोला नी !

काठमाडौ, असार २२ (हाकाहाकी)– गृह मन्त्रालयले घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । मास्क नलगाएर हिड्ने जो कोहीलाई पनि पक्राउ गर्न निर्देशन दिएको छ ।

आंशिक रुपमा लकडाउन जारी रहेको र कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिने खतरा अझ बढेको र लकडाउन पूर्ण रुपमा खुलि नसकेको अवस्था उल्लेख गर्दै सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरिएको हो ।

जरुरी काम बाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन र निस्किनुपर्ने अवस्था आएमा अनिवार्य रुपमा मास्क लगाउन तथा एक अर्काबीच कम्तिमा पनि २ मिटरको दुरी कायम राखेर मात्र काम गर्न आग्रह गरिएको छ ।

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । सरकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी ल्याएको हो । यस अन्र्तगत व्यापार व्यवसाय तथा सवारी साधन चल्न थालेपछि सर्वसाधारणको चाप बढेको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा कोरोना संक्रमितहरुको संख्या हरेक दिन धेरै संख्यामा थपिदै गएको छ । उपत्यका बाहिरबाट काठमाडौ भित्रिने सर्वसाधारणको संख्या पनि ह्वात्तै बढेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार