Wednesday, October 30, 2024

प्रदेश १ का कृषकलाई १० करोड वितरण गरिदै

काठमाडौ, असार २२ (हाकाहाकी)– प्रदेश १ सरकारले लकडाउनबाट प्रभावित किसानलाई राहत स्वरुप करिब १० करोड रुपैयाँ वितरण गर्ने भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय राहत कार्यक्रम ल्याएको हो। प्रदेशको १४ जिल्लाका किसानलाई १० करोड ३ लाख ९० हजार रुपैयाँ राहत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

मन्त्रालयले तयार पारेको ’कृषि व्यवसाय राहत कार्यक्रम सञ्चालन निर्देशिका २०७७’ अनुसार कुखुरा र बंगुरपालक, दुग्ध उत्पादन तथा बिक्री, चियाको हरियो पत्ती उत्पादन, तरकारी तथा फलफूल, च्याउ र माछा उत्पादन गर्ने किसानले राहत पाउने भएकाछन् ।

सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ भित्रै प्रदेशमा पशुपक्षी पालन गर्ने किसानले ५ करोड ३४ लाख ७९ हजार र कृषि उत्पादन क्षेत्रकाले ४ करोड ६९ लाख ११ हजार ९९० रुपैयाँ राहत दिने भएको हो।

लकडाउनपछि मन्त्रालयले निर्देशिका जारी गरेर १४ वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रबाट प्रभावित किसानको तथ्यांक संकलन गरिसकेको छ।

मन्त्रालयको निर्देशिकाको दफा ५ बमोजिम जिल्ला समन्वय समितिको संयोजकत्वमा बनेको समितिको सिफारिसको आधारमा किसानहरूले राहत पाउनेछन्।

समितिले छनोट गरेर पठाएको प्रभावित किसानको क्षतिको तथ्यांकलाई आधार मानेर राहत वितरण गर्ने तयारीमा मन्त्रालय रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार