Wednesday, October 30, 2024

बहुप्रतिक्षित मेलम्चीको सुरुङ्गमा पानी छोडियो

काठमाडौ, असार २१ (हाकाहाकी)– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङमार्गमा पानी हालेर परीक्षण सुरू गरिएको छ ।

आइतबार मेलम्ची खानेपानी आयोजनाको सुरूङमा मेलम्ची खोलाको पानी डाइर्भसन गरेर बगाइएको साइट इन्जिनियर शेखर खनालले जानकारी दिनुभएको छ ।

सुरूङ परीक्षण सुभारम्भ गर्न सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल पनि मेलम्ची पुग्नुभएको थियो ।

इन्जिनियर खनालका अनुसार अस्थायी डाइभर्सनबाट पानी सुरूङमा हालेर ८ सय मिटर सुरूङको परीक्षण गरी फ्लसिङ गेट बाट पानी फेरि मेलम्ची खोलामा नै पठाइएको छ । साथै सुरुङ भित्रको एउटा गेटमा ढोका फिट गर्न बाँकी नै छ । जसले गर्दा आइतबार ८ सय मिटरसम्म मात्रै पानी बगाइएको उहाँले बताउनुभयो । सोमबारदेखी भने पूरै सुरूङमा पानी हाल्ने र विस्तारै सुरूङ भर्दै जाने योजना रहेको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ मेलम्ची खानेपानी आयोजनाको लागि तयार गरिएको छ । पुरै सुरूङ भर्नका लागि २० दिन लाग्न सक्छ ।

सोमबारदेखी सुन्दरीजलसम्मै पानी पठाएर सुरूङ मार्ग भरीने छ । त्यसका लागि अब नियमित पानी सुरूङमा पठाइने इन्जिनियर खनालले बताउनुभयो । सुरूङमार्गमा कुनै समस्या भए नभएको परीक्षण गर्नका लागि पानी भर्न लागिएको हो ।

यदी सुरूङमार्गमा पानी भर्दा कुनै समस्या नआएमा नियमित रूपमा पानी बगाउनको लागि खानेपानी आयोजनाको सुरूङ तयार हुन्छ। कतै समस्या भेटिएमा भने फेरि सुरूङ मार्गको परीक्षण गर्नुपर्ने हुन्छ ।

मेलम्ची खोलाको पानी सुरूङ मार्गमा हाल्न थालिए पनि डाइभर्सनको स्थायी संरचना भने बनिसकेको छैन । अहिले अस्थायी डाइभर्सनबाट खोलाको पानी सुरूङतर्फ फर्काइएको छ।

मेलम्चीबाट प्रतिदिन १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । दोस्रो चरणमा भने याङ्ग्री र लार्के खोलाको पानी पनि सोही सुरूङमार्गबाट पानी काठमाडौं ल्याउने योजना छ ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो परियोजनाको रूपमा याङ्ग्री र लार्केमा पनि काम शुरू भइसकेको छ ।

काठमाडौं उपत्यकामा करिब ५८ हजार परिवारलाई खानेपानी उपलब्ध गराउने योजना सहित दुई दशक अघि खानेपानी आयोजना शुरू भएको थियो । पाँच वर्षमा पूरा गर्ने उद्देश्यसहित शुरू भएको आयोजना २० वर्ष पूरा हुँदा पनि सम्पन्न भइसकेको छैन।

आयोजना व्यवस्थापनमा चरम लाहपर्वाहीको कारण देशकै ठूलो खानेपानी आयोजना प्रभावित भएको थियो । पछिल्लो समयमा गत आर्थिक वर्षमा नै मेलम्चीको खानेपानी काठमाडौं ल्याइसक्ने भनिए पनि सुरूङ मार्ग ब्रेक–थ्रु हुने अवस्थामा इटालियन कम्पनीका ठेकेदार काम छोडेर भागेका थिए।

त्यसपछि नयाँ ठेकेदार नियुक्त गरेर मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माण सम्पन्न गरिएको थियो । अहिले भने सुरूङमा पानी भित्र्याउनको लागि स्थायी डाइभर्सन निर्माणको काम धमाधम भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार