Wednesday, December 25, 2024

घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाइयो

काठमाडौ, असार १७ (हाकाहाकी)–घरघरमा तुलसी रोप्दै हिन्दू धर्मावलम्बीहरुले बुधबार हरिशयनी एकादशी मनाउँदैछन् ।

हरेक वर्षको आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाउने गरिन्छ । घरआँगनमा रहेको तुलसीको मठ तथा गमलामा विधिपूर्वक तुलसीको बिरुवा रोपीएको छ ।

महिनाअघिको एकादशीमा बिउका रुपमा छरिएको तुलसीलाई हरिशयनी एकादशकिा दिन रोप्ने चलन छ । महिला तथा पुरुषहरु नुवाईधुवाई गरेर बिहानैदेखि केही नखाई दिनभर व्रत बसी साँझ तुलसीको पुजा गर्ने चलन छ ।

तुलसीलाई धार्मिक हिसाबले पनि महत्वपूर्ण वनस्पतिको रुपमा लिईन्छ । धार्मिक हिसाबसँगै वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पती रहेको विज्ञहरुले बताएका छन् । तुलसीमा धेरै अक्सिजन पाईने हुनाले मान्छेलाई अन्तिम अवस्थामा पनि तुलसीको मठमा राख्ने गरिएको पाईन्छ ।

यस्तै, औषधिय हिसाबले पनि तुलसी महत्वपूर्ण वनस्पति मानिन्छ । तुलसीमा धेरै प्रकारको रोग निवारण गर्ने शक्ति हुने आयुर्वेदका अध्यताहरुले बताएका छन् ।

तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने परम्परा छ । सत्य युगमा जालन्धरकी पत्नि व्रिन्दाले विष्णुलाई झार हुनुपरोस् भनी सराप दिएकाले , विष्णु भगवान झार स्वरुप तुलसी भएको उल्लेख छ ।

पौराणिक कथा अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको थियो ।

संघर्षको थकानबाट आराम लिन भगवान विष्णुले बद्री आश्रमको हेमवती गुफामा शयन गरेको दिनको सम्झनामा हरिशयनी एकादशी भनिएको पुराणमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार