काठमाडौ, असार १७ (हाकाहाकी)– माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै ट्याक्सी व्यवसायीहरुले बुधबार दोस्रो दिन पनि प्रदर्शन गरेका छन् ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले हिजोदेखि आन्दोलन थालेका हुन् । उनीहरुले काठमाडौंको मीनभवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालय अघि आफ्ना ट्याक्सीहरु सडकमा तेर्स्याएर विरोध जनाइरहेका छन् ।
कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि सार्वजनिक सवारीसाधन चल्न नपाउँदा दैनिक कमाइ गरी खाने सार्वजनिक सवारीसाधनका मजदुरहरु मर्कामा परेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
आन्दोलनमा सहभागी व्यवसायीहरु माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउछन् । काम गर्न नपाउन्जेल विभाग अगाडि नै ट्याक्सी रोकेर त्यही बस्ने निर्णय गरेकोले खानाको व्यवस्था पनि त्यही गरिएको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय सदस्य दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।