काठमाडौ, असार १७ (हाकाहाकी)– भारतमा कोरोना भाइरसबाट संत्र mमित हुनेहरुको संख्या ६ लाख पुग्न लागेको छ ।
सरकारी अधिकारीहरुलाई उदृत गर्दै एएनआई समाचार संस्थाले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोना भाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना संक्रमित भएका छन् ।
तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल संक्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त जनाएको छ ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।
प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ ।
त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना संक्रमित भएका छन् भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना संक्रमित भएको समाचारमा जनाइएको छ ।