काठमाडौ, असार १५ (हाकाहाकी)– मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीकी चार वर्षीया बालिकालाई कोरोना संक्रमण भएको छ ।
पेट दुखेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचारका लागि लगिएकी ती बालिकामा कोरोना संक्रमण देखिएको हो ।
ती बालिकाका एपेन्डिसाइटिस भएको अस्पतालले बताएको थियो । शल्यक्रियाका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । अस्पतालले रिपोर्ट आएपछि मात्र शल्यक्रिया गर्ने भन्दै आवश्यक औषधि दिएर घर फर्काएको थियो ।
गत असार ११ मा लिएको स्वाबको नतिजा शनिवार साँझ पोजिटिभ आएको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
घरमै रहेकी बालिकालाई थप उपचारका लागि पाटन अस्पताल पठाइएको तर त्यहाँ ठाउँ अभावका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। ती बालिकाको कुनै यात्रा विवरण छैन । अहिले संक्रमित बालिकाको घर र त्यस टोलमा समेत सिल गरेर उच्च सतर्कता अपनाएको छ ।
प्रहरी परिचालन गरी स्थानीयलाई अनावश्यकरुपमा हिँड्डुल गर्न निषेध गरिएको छ। संक्रमितको परिवारलाई हाल होम क्वारेन्टाइनमा राखिएको र बालिकाको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलनको तयारी भइरहेको छ।