Wednesday, December 25, 2024

दोस्रो पटक कोराना फैलिएपछि अष्ट्रेलियामा त्रास

काठमाडौ, असार १५ (हाकाहाकी)– अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमणले त्रास उत्पन्न भएको छ ।

कोरोना भाइरस संक्रमणको न्युनीकरणमा विश्वमै सफलता प्राप्त गरेको अष्ट्रेलियामा अहिले भने दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ ।

लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् ।

विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १ सय ५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो ।

तर अष्ट्रेलियाका अरु धेरै राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या निकै कम छ भने कतिपय राज्यहरु भाइरसमुक्त भइसकेका छन् । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून भएपछि विभिन्न राज्यले आफ्नो मौलिकताअनुसार लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेका थिए ।

सामाजिक प्रतिवन्ध खुकुलो भएसँगै मानिसहरुले सामूहिक भेटघाटमा बढी जोड दिएका थिए । मेलबर्नमा सुरु भएको दोस्रो संक्रमणको लहरको मुख्य कारण यकिन गर्न नसकिए पनि सामूहिक भेला मुख्य कारण हुनसक्ने अधिकारीहरुले बताएकाछन् ।
नयाँ संक्रमण देखिएकाहरुमध्ये सबैभन्दा धेरै मेलबर्नका दुई होटलका कामदारहरु छन् जुन होटलमा विदेशबाट फर्केका यात्रुलाई अनिवार्य क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको थियो । सामाजिक दुरीलाई नजरअन्दाज गर्दै विदेशबाट आएका व्यक्तिबाट अन्यमा संक्रमण फैलिएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

इसैबिच नयाँ संक्रमणको संख्या बढेसँगै भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजले १० दिनमा करिब १ लाख मानिसलाई घरघरमै गएर निःशुल्क परीक्षण गरिने योजना रहेको जानकारी दिनुभएको छ ।

यस्तै प्रिमियर एन्ड्रुजले विदेशबाट फर्किएका सबै यात्रुहरुले अनिवार्य परीक्षण गर्नुपर्ने पनि बताउनुभएको छ । अधिकारीहरुका अनुसार विदेशबाट फर्केका करिब ३० प्रतिशत यात्रुहरुले परीक्षण गर्न अस्वीकार गरेका थिए ।

त्यसैगरी दुईहप्ते क्वारेन्टिनमा बसेकाहरुको क्वारेन्टिन अवधिभरि दुईपटक परीक्षण गरिने जनाइको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनका प्रमुख स्वास्थ्य सल्लाहकार ब्रेन्डान मर्फीले भिक्टोरिया राज्यको यो कदमको प्रशंसा गर्दै आम नागरिकहरुले पनि साथ दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

करिब साढे २ करोड जनसंख्या भएको अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या लगभग ७ हजार ५ सय छ भने हालसम्म १०४ जनाको मृत्यु भएको छ ।

भिक्टोरिया राज्यमा नयाँ संक्रमितहरुको संख्या थपिएसँगै अत्यावश्यक खाद्यान्न लगायतका अन्य सामग्रीहरुको सन्चय गर्न मानिसहरु तछाडमछाड गरिरहेको पनि बताइएको छ । कोल्स, उलवर्थस लगायतका सुपरमार्केटहरुमा ट्वाइलेट पेपर, हेन्ड सेनिटाइजर, खाद्य सामग्रीहरुको फेरि संकट सुरु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार