Thursday, October 31, 2024

स्थगित राष्ट्रिय भिटामिन ए कार्यक्रम असार २२ र २३ गते

काठमाडौ, असार १२ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम फेरी सञ्चालन गर्ने भएको छ ।

यही असार २२ र २३ गत यो कार्यक्रम फेरी सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण गएको वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम मन्त्रालयले गएको चैत २१ गते स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ ।

प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख तीन हजार ५२२ बालबालिका सहभागी हुने गर्दछन् । त्यहि कार्यक्रममा बालबालिकालाई जुकाको औषधि र बालभिटासमेत दिइने खुवाउने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिनुभयो ।

जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गर्दछन् ।

ताजा समाचार

सम्बन्धित समाचार