Thursday, October 31, 2024

बालबालिकालाई झाडापखाला विरुद्धको खोप

काठमाडौ, असार १२ (हाकाहाकी)– सरकारले पहिलोपटक बालबालिकालाई झाडापखाला रोक्नका लागि खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बालबालिकालाई झाडापखालाविरुद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । बालबालिकालाई खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खुवाइने गरिन्छ ।

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ ।

यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाउने छन् । उहाँका अनुसार झाडापखालाबाट वर्षेनि बालबालिकाको ज्यान जाने गरेकाले त्यसलाई रोक्न खोप दिन थालिएको बताउनुभयो ।

बर्सेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको ज्यान जाने गरेको सरकारी तथ्यांक छ ।

बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार