Thursday, October 31, 2024

अरनिको राजमार्गमा पहिरो, कन्टेनरहरु बाटामै

काठमाडौ, असार ९ (हाकाहाकी)– ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारेपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् ।

ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपीङ् बजारदेखि २ सय मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपीङ् भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् ।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि त्यही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो ।

बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गएको माघ १६ गतेदेखि बन्द भएको तातोपानी नाका गएको चैत २६ गते देखि सञ्चालनमा आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार