काठमाडौ, असार ८ (हाकाहाकी)– काठमाण्डौभित्र कुकर पाल्नका लागि अब अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
रहरका लागि कुकुर पाल्ने तर जनावर बिरामी भएपछि अलपत्र छाड्ने क्रम बढेका कारण नयाँ नियम ल्याउने तयारी गरिएको महानगरको तर्क छ । सडक लगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन ठूलो समस्या बन्दै गएको अधिकारीहरू बताउँछन् ।
महानगरपालिकाले आउँने आर्थिक वर्षका बजेटमा यो योजना प्रस्ताव गरेको र पारित भएर साउन महिनाबाट कार्यान्वयनमा ल्याउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।
काठमाण्डौमा हजारौँ कुकुर, तिनको दिसाबाट रोग फैलिन सक्छन् । नयाँ नियम लागु भए महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार कर लिएपछि महानगरले सेवा पनि दिने छ । उहाँले घरमै गएर खोप लगाउने र बन्ध्याकरण पनि गराउने बताउनुभयो ।