Thursday, October 31, 2024

मनसुनको सक्रियतासँगै पहिरो जानेक्रम बढ्यो, सडक अवरुद्ध

काठमाडौ, असार ८ (हाकाहाकी)– मनसुन सक्रिय भएपछि देशका विभिन्न स्थानमा पहिरो जाने क्रम सुरु भएको छ । पहिरोका कारण सडक अवरुद्ध भइरहेका छन् ।

अघिल्ला बर्षहरुको तुलनामा यसपटक मनसुन छिटो नेपाल भित्रिएको हो । सबैजसो कमजोर अवस्थामा भित्रिने मनसुन यसपटक भने सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा देशभर बर्षा भइरहेको छ । नियमित बर्षाका कारण पहिरो जाने क्रम सुरु भइरहेको छ । यसबाट धनजनको क्षति पनि हुन थालेको छ ।

हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा सोमबार बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन अहिले स्काभेटर प्रयोग गरेर पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो ।

यसैगरी लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर –चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक हिजो साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यआवश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उहाँको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार