काठमाडौ, असार ७ (हाकाहाकी)– कोरोना भाइरसका कारण आजसम्ममा विश्वभरी ४ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।
एएफपी समाचार संस्थाले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोना भाइरसबाट विश्वभरी चार लाख ६७ हजार ३ सय ११ जनाको मृत्यु भएको हो ।
त्यसैगरी विश्वभरी संक्रमितहरुको संख्या ८९ लाख ४६ हजार २ सय ३८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
विश्वभरी कुल संक्रमितमध्ये ४७ लाख ६० हजार ५१९ जना संक्रमणमुक्त भएको जनाइएको छ । त्यसैगरी ३७ लाख १८ हजार ४ सय ८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।
तीमध्ये ५४ हजार ५ सय ७३ जना गम्भीर अवस्थामा रहेका छन् । पछिल्लो विवरण अनुसार, सवैभन्दा धेरै संक्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३० हजार ९ सय ८ जना संक्रमित भएका छन् । दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १ सय ३९ जना संक्रमित रहेका छन् ।
संक्रमितको संख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली, नवौँमा चिली र दशौँमा इरान रहेका छन् ।
सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २१ हजार ९ सय ९९ रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने चौथोमा रहेको स्पेनमा २८ हजार ३ सय २२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।