Wednesday, December 25, 2024

कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई खोज्न १ हजार ७५ टोली परिचालन

काठमाडौ, असार ७ (हाकाहाकी)– कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाको खोजी कार्य थप प्रभावकारी बनाउँन सरकारले देशभर १ हजार ७५ वटा टोली बनाएर परिचालन गर्ने भएको छ ।

गत जेठ २८ गते बसेको मन्त्रीपरिषद् बैठकले ‘कोभिड–१९ केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टोली परिचालन तथा व्यवस्थापन निर्देशिका’ स्वीकृत गरेको थियो ।

त्यो स्वीकृतिसँगै ती टोली परिचालन गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जनाउनुभएको छ । उहाँका अनुसार प्रत्येक टोलीमा ३ जनाको दरले कूल ३ हजार २ सय २५ व्यक्ति यस काममा लगाइनेछ ।

संक्रमितहरु समुदायस्तरमा पनि फैलनसक्ने र त्यसबेला कन्ट्याक्ट ट्रेसिङ चुनौतिपूर्ण हुने भन्दै थप जनशक्ति परिचालन गर्ने निर्णयमा सरकार पुगेको हो । शंकास्पद, संभावित तथा पुष्टि भएका बिरामीको केस अनुसन्धान फाराम भरी विस्तृत जानकारी लिने, उनीहरुसँग सम्पर्कमा आएकाको सुची तयार पार्ने, सुचीमा रहेका व्यक्तिको पहिचान गर्ने, सम्पर्कमा रहेका व्यक्तिहरु पत्ता लगाई कुराकानी गर्ने तथा सूचना संकलन गर्ने तथा ७ दिनको अन्तरालमा सबै सम्पर्कमा आएकाहरुको थप जानकारी लिने र उनीहरुलाई क्वारेन्टिनमा बस्न निर्देशन दिने लगायत कन्ट्याक्ट ट्रेसिङ टोलीको मुख्य जिम्मेवारी तोकिएको छ ।

कन्ट्याक्ट ट्रेसिङको मुख्य जिम्मेवारी पाएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेका अनुसार नेपालमा हाल देखिएका संक्रमितहरुमध्ये ९४ प्रतिशत आयातित हुन् ।

निर्देशिकाले प्रत्येक स्थानीय तहमा एउटा इन्भेस्टिगेसन (अनुसन्धान) तथा कन्ट्याक्ट ट्रेसिङ टोली गठन गर्नुपर्ने प्रावधान लागु गरेको छ ।

प्रत्येक टोलीमा एक–एक जना जनस्वास्थ्य अधिकृत (जनस्वास्थ्यमा कम्तिमा स्नातक तह), नर्स–पारामेडिक्स तथा ल्याब टेक्निसियन वा ल्याब एसिस्टेन्ट गरी तीन जना सदस्य हुने व्यवस्था गरिएको छ ।

महाशाखा प्रमुख डा. पाण्डेका अनुसार हाल देशभर यस्ता ५ सय टोलि बनिसकेका छन् भने बाँकी ठाउँमा बन्ने तयारी थालिएको छ ।

निर्देशिका बमोजिम यसरी टोली परिचालन गर्दा कामका लागि आवश्यक रकम कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचार कोषबाट व्यहोरिने जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार