Thursday, October 31, 2024

भदौसम्म संक्रमितको संख्या ४० हजार पुग्ने सरकारी अनुमान

काठमाडौ, असार ७ (हाकाहाकी)– सरकारले भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संक्रमणको दर हेर्दा भदौसम्ममा नेपालमा संक्रमितको संख्या बढ्ने अनुमान गरेको हो ।

संक्रमित बढेसँगै त्यसअनुसार तयारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएपछि मन्त्रालयले तयारी अगाडि बढाएको छ ।

हालसम्म भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्र अस्पताल भर्ना गरेर राख्‍नुपर्ने र भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशत आइसियुमा राख्नुपर्ने अवस्था आउने मन्त्रालयको आँकलन छ । पछिल्ला दिनहरुमा देशभर करिब ४ सय भन्दा बढीको संख्यामा संक्रमितहरू थपिने गरेका छन् ।
मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीले २ हजार गम्भीर संक्रमितलाई उपचारका लागि स्रोत–साधन भएको बताउनुभएको छ । र संक्रमण बढ्दै जाने देखिएकोेले त्यही अनुसार मन्त्रालयले तयारी थालेको उहाँले बताउनुभयो ।

डा. लोहनीले तीन महिना अगाडि १ हजार ५ सय ५१ आइसियु र ७ सय ७० बेड रहेकोमा अहिले त्यो बढाएर १ हजार ७ सय २ आइसियु र ९ सय भेन्टिलेटरको ख्या पु¥याइएको र आवश्यक परे निजी मेडिकल कलेजहरूसँग पनि सहकार्य गरिने बताउनुभएको छ ।

यसैबीच, मन्त्रालयका सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाउन थप ५ ठाउँमा पिसिआर मेशिन जडान गरी प्रयोगशाला स्थापना गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पतालका साथै दैलेख र डडेल्धुरामा प्रयोगशाला थपिनेछ । यस्तै, हाल मन्त्रालयसँग २१ दिनलाई पुग्ने मात्रै पिसिआर किट रहेको समेत जनाइएको छ ।

मन्त्रालयसँग पिसिआर रि–एजेन्ट किट ७२ हजार ५ सय, पिसिआर रि–एजेन्ट पोर्टेबल १ हजार ८, आरडिटी ६४ हजार ६ सय ९, र भिटिएम ३० हजार १ सय ४६ थान रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार