काठमाडौ, असार ५ (हाकाहाकी)– जेठ ३० गते पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन एक हप्तापछि सुदूरपश्चिम प्रदेश पुगेको छ ।
अहिले सुदूरपश्चिमका केही भूभाग बाहेक देशभर मनसुन सक्रिय रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा मनसुन फैलिन अझै एक र दुई दिन लाग्नेछ ।
माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्रको प्रभावले कर्णाली क्षेत्रबाट मनसुन अगाडि बढ्न सकेको थिएन । उच्च चापीय क्षेत्रको प्रभाव कम हुँदै गएपछि मनसुन सुदूरपश्चिमतर्फ सर्दै गएको हो । दुई दिन ढिलो गरी गएको जुन १२ मा मनसुन नेपाल भित्रिएको थियो ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउमा तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउमा हल्का पानी पर्नेछ । केही ठाउमा ठूलो पानी पर्ने भएकोले नदीमा पानीको बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काई, कोशी, कमला, वाग्मती, नारायणीलगायतका नदी र शाखा नदीमा बहाब तुलनात्मक रुपमा बढ्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।