Wednesday, December 25, 2024

कोभिड १९ बाट प्रभावित करदातालाई काठमाडौं महानगरको विशेष सहुलियत

काठमाडौ, असार ५ (हाकाहाकी)– काठमाडौं महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिनेजस्ता नीति महानगरपालिकाले लिएको बताउनुभएको छ ।

करदातालाई कर प्रणालीमा स्वेच्छिकरुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने नीति लिएको छ । यसैगरी नीति तथा कार्यक्रममा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिने उल्लेख गरिएको छ ।
शहरी फलफूल खेती, कौशी खेती, माटो बिनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ ।

कामपाको चारै दिशामा अग्नि नियन्त्रण एकाइको स्थापना गरिने नीतिअनुरुप यस आर्थिक वर्षमा कोटेश्वर, कलङ्की र महाराजगञ्जमा अग्निनियन्त्रण एकाइको स्थापना गर्ने लक्ष्य लिएको छ ।

वसन्तपुरस्थित जुद्धबारुणयन्त्र भवन जीर्ण भएकाले सङ्ग्रहालयसहित भवन पुनर्निर्माण गर्ने, काठमाडौं उपत्यकाको जोखिम संवेदनशील भू–उपयोग योजना पुनरावलोकन गर्नेजस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ । काठमाडौं महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक वर्षमा निर्माण कार्य शुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार