काठमाडौ, असार ५ (हाकाहाकी)– प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्नेबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई सोमबार बोलाएको छ ।
मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग छलफल गर्ने तय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्नेछ ।
लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात संकलन गरेको जनाएको छ । तयार कागजातलाई एकीकृत गरेर समिति सचिवालयले अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरेको छ ।
सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर उसले पहिलो लटमा औषधि र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेपछि सरकारले समयमा आपूर्ति गर्न नसकेको भन्दै सम्झौता रद्द गरेको थियो ।
त्यसअघि नै बजार मूल्यभन्दा महँगोमा खरिद गरेको र प्रक्रिया मिचिएको भनेर चौतर्फी आलोचना भएको थियो । स्वास्थ्य सेवा विभागले १२ चैत २०७६ मा कोरोना भाइरस औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।
ओम्नी समूहले १६ गते पहिलो लटमा सामान ल्याएको थियो । तर महँगोमा सामान खरिद भएको भनेर विरोध भइरहेका बेला ओम्नी समूहले थप सामान ल्याउन नसकेपछि स्वास्थ्य सेवा विभागले १९ चैतमा सम्झौता रद्द गर्ने घोषणा गरेको थियो । यसैबिच समिति सभापति भरतकुमार शाहले समितिले गरेको अध्ययनमा धेरै त्रुटि फेला परेको बताउनुभएको छ ।
समितिले विवरण संकलन गरी आफैँ अध्ययन गरेर धेरै कमजोरी औंल्याएको छ । त्यस्ता कमजोरी र त्रुटिबारे समितिमा छलफल गरेर, सरोकारवालालाई बोलाएर स्पष्टीकरण लिएर मात्रै निष्कर्षमा पुगिने पनि उहाँले बताउनुभयो ।