Wednesday, December 25, 2024

बन्दाबन्दीमा करिब ६ अर्बको औषधि आयात

काठमाडौ, असार ४ (हाकाहाकी)– चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब रुपैया बराबरको औषधि आयात भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।

यस अवधिमा चार अर्ब ५७ करोड २९ लाख ९३ हजार बराबरको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।
उहाँका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार