Wednesday, December 25, 2024

माघसम्म नेपालमा कोरोना नियन्त्रण हुन्छः प्रधानमन्त्री

काठमाडौ, असार ४ (हाकाहाकी)– प्रधानमन्त्री केपी शर्मा ओलीले माघ सम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघ वा फागुनसम्ममा कोरोना संक्रमण नियन्त्रणमा आउने दाबी गर्नुभएको हो ।

नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने पनि उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले नेपालमा अझै संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गर्दै हाम्रो भान्छामा हुने बेसारको बारेमा बोल्न छुटाउनु भएन ।

यसैबीच, कोरोना संक्रमणबाट मृत्यु भएकाको जुन संख्या ,स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ, त्यसलाई स्वीकार्न समेत प्रधानमन्त्री ओली तयार रहनु भएन ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ तर प्रधानमन्त्री भने विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको दावी गर्नुहुन्छ ।
प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको फेरि पनि दोहोराउनु भयो । दक्षिण एसियामा कोरोना संक्रमणको रोकथाममा भुटान पछि नेपाल राम्रो अवस्थामा रहेको प्रधानमन्त्रीको भनाई छ ।

यसैक्रममा प्रधानमन्त्री ओलीले महाकाली सन्धिका बारेमा समेत आफ्नो धारणा राख्नु भयो । उहाँले महाकाली सन्धीमा हस्ताक्षर गर्नेहरुले नै पछि विरोध गरेको उल्लेख गर्नु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार